काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विमल पोखरेल आफ्नो पार्टीमा नरहेको जानकारी दिनुभएको छ ।
युगदर्शनद्वारा राखिएको एक जिज्ञासाको जवाफ दिँदै उहाँले सो जानकारी दिनुभएको हो ।
‘तपाईंहरूको पार्टीको एक जना सदस्य विमल पोखरेलले सामाजिक सञ्जालमा विरोध गरेको पाइन्छ । यहाँहरूले त्यसबारे केही पनि कदम उठाएको पाइँदैन । त्यस्तो किनहो ?’ भन्ने हाम्रो प्रश्नको जवाफमा उहाँले भन्नुभयो– ‘विमल पोखरेललाई हाम्रो पार्टीले पहिले नै निष्काशन गरिसकेको छ । त्यसैले अहिले उहाँ हाम्रो पार्टीको सदस्य होइन ।’
पोखरेल पहिला मसालनिकट विद्यार्थी सङ्गठनमा रहेको सन्दर्भमा उहाँको भनाइ थियो– ‘पहिले हाम्रो पार्टीको नजिकको विद्यार्थी मोर्चाको अध्यक्ष हुँदाका बेला उहाँले गर्ने अराजक गतिविधिको प्रभाव फराकिलो हुने भएकाले त्यो अवस्थामा कतिपय अवस्थामा उहाँका अराजक गतिविधिको पार्टीले सार्वजनिक आलोचना गर्ने र उहाँलाई पार्टीभित्र चेतावनी, सुधारका लागि अनुरोध, आलोचना वा चेतावनी दिने कार्य गरेको थियो । त्यसपछि पनि उहाँको अराजकतावादी प्रवृत्तिमा सुधार ल्याउनका लागि धेरै प्रयत्न गरेको थियो तर उहाँको त्यो प्रवृत्तिमा सुधार आउन सकेन ।’
‘पार्टीले कैयौँ प्रयत्न गर्दा पनि अराजक प्रवृत्तिमा सुधार आउन नसकेपछि वा सुधार गर्न नचाहनुभएपछि उहाँलाई पार्टीको सदस्यबाट अनिश्चितकालका लागि करिब छ महिनाभन्दा पहिले नै हटाइसकिएको थियो । त्यस विषयमा पार्टीभित्र परिपत्र भएर त्यो कार्यान्वयन भइसकेको छ’ प्रवक्ता पुरीले भन्नुभयो ।
अहिले पनि पोखरेलले सामाजिक सञ्जालमा मसालको विरोध गरिरहेको हुनाले कैयौँ शुभचिन्तक वा समर्थकलाई भ्रम परेको हुन सक्ने उहाँले बताउनुभयो ।
‘तर त्यसरी भ्रममा पर्नुपर्ने कुनै आवश्यकता छैन । उहाँ हाम्रो पार्टीमा नभएको कुरा हामीले फेरि पनि स्पष्ट गर्न चाहन्छौँ’ उहाँले भन्नुभयो– ‘पार्टीभन्दा बाहिर रहेका मानिसहरूले हाम्रो पार्टीको विरोध गर्नु सामान्य कुरा हो । उहाँको विरोध पनि त्यही प्रकारको विरोध हो ।’
अखिल (छैठौं) पूर्व अध्यक्षसमेत रहेका पोखरेलले पछिल्लो समयमा लगातार मसालको विरोध गर्न थालेपछि युगदर्शनले प्रवक्ता पुरीसित उपर्युक्त जिज्ञासा राखेको थियो ।