तम्घासबजार । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो ।
एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो ।
साना जहाज नेपाल एयरलाइन्समा दुईओटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ’ उहाँले भन्नुभयो– ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन ।’
प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताउनुभयो ।
रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौँ उडान भरेको थियो ।
२०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झन्डै २० महिनामा ९० ओटा मात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेसन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीन जना छन् ।