काठमाडौँ । भारतीको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा गत आइतबार मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ।
गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
बुधबार राति नेपाल ल्याइएको उनको शव आज बिहानै गृहजिल्ला रुपन्देहीको भैरहवास्थित स्वर्गद्वारी घाटमा दाह संस्कार गरिएको हो।
उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका साथै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए।
केआईआईटी कलेज प्रशासनले प्रकृतिले आत्महत्या गरेको दाबी गरेको छ।
तर उनलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा त्यही कलेजका एक भारतीय विद्यार्थीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लगाइएको छ। साथै कलेजका अन्य ५ कर्मचारी पनि अनुसन्धानको घेरामा छन्।
प्रकृतिको न्यायका लागि नेपाली विद्यार्थीले आइतबारदेखि नै प्रदर्शन थालेका थिए।
तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरूलाई उल्टै दमन गरेको थियो।
त्यसपछि भएको विवादले उग्ररूप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो। उनीहरू विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन्।
बुधबार साँझसम्म १६८ विद्यार्थी स्वदेश फर्किएका छन्।