काठमाडौँ । सत्तारूढ दलहरूले संसदमा पेस गरिएका अध्यादेश पास गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
२०८१ फागुन ३ गते शनिबार बसेको सत्तापक्षीय दलहरूको बैठकले सरकारले ल्याएको अध्यादेश पारित गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति पनि गरेको छ ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेश छिटै पारित हुने बताए । फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने मन्त्री लेखकले जानकारी दिए ।
सरकारले जारी गरेको अध्यादे सङ्घीय संसद्को दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलबिच पारित गर्ने सहमति बनेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले भने– ‘सरकारले जारी गरेको अध्यादेश सङ्घीय संसद्को दुवै सदनका दर्ता भएका छन् । ती अध्यादेश सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ । अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन् । मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । सकारात्मक रूपले निष्कर्षमा पुगेको छ । अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू हामी सहमत भएका छौँ । यो प्रक्रिया चाँडै अघि बढ्छ ।’
गृहमन्त्री लेखकले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरू सहमत रहेको बताए ।
भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै राजनीतिक दलबच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने उनको भनाइ थियो ।
उनले थपे– ‘राष्ट्रिय सभामा पनि बहुमत पुग्ने गरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिस्थापन गर्नैपर्छ । अहिले हाम्राबिचमा जुन अध्यादेशमा सहमति भएको छ, ती अध्यादेश अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’
गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताए ।
संविधान संशोधन सबै राजनीतिक दलसँग संवाद, सहकार्य गरेर अघि बढ्ने उनको दाबी थियो ।