शङ्करप्रसाद पोखरेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगामी चैत २४ देखि ३० सम्म आयोजित सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनका लागि मोटरसाइकिल ऱ्याली सम्पन्न गरेको छ ।
२०८१ फागुन ३ गते शनिबार रुपन्देहीको बुटवलदेखि भैरहवासम्म सो ऱ्याली सम्पन्न भएको हो ।
सयौँको सङ्ख्यामा राजमोको झन्डा बोकेर बुटवलको पुष्पलालपार्कदेखि सुरु भएको सो ऱ्याली भैरहवासम्म पुगेको थियो ।

ऱ्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै राजमो केन्द्रीय सल्लाहकार बद्रे आलमले देशले अब प्रदेश सरकार धान्न नसक्ने बताउनुभयो ।
सो अवसरमा उहाँले राष्ट्रिय जनमोर्चाको आयोजनामा हुन गइरहेको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनमा सामेल हुन सबैलाई आग्रहसमेत गर्नुभयो ।
उहाँको भनाइ थियो– ‘सङ्घीय प्रदेश खारेज नगरे सङ्घीयताले देशै खारेज गर्नेछ ।
कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले सङ्घीय प्रदेश नेपाली जनताका लागि घाँडो भएको बताउनुभयो ।

उहाँले सङ्घीय प्रदेश खारेज गरेर स्थानीय तहलाई थप अधिकार दिन प्रजातान्त्रिकका विकेन्द्रीकरण लागु हुनुपर्ने माग गर्नुभयो ।
बुटवलमा भएको कोणसभालाई राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी र राजमो लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतमले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन राजमो रुपन्देहीका सचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
त्यसैगरी, भैरहवामा भएको कोणसभाको सञ्चालन जिल्ला अध्यक्ष टानबहादुर केसीले गर्नुभएको थियो ।
