काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर बनेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आफ्नै पार्टीमाथि यस्तो आरोप लगाएका हुन्।
उनले नेकपा माओवादी केन्द्रले दक्षिणपन्थी बाटो अंगालेको बताए। एकीकृत समाजवादीले पनि बाटो बिराएको उनको भनाई थियो।
नेता खनालले कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको दाबी गरे। उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए।
यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने खनालले टिप्पणी गरे। उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु आवश्यक रहेको बताए।
देशका सबै वामपन्थी एक हुनुपर्ने खनालको भनाई थियो।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब ०८४ आउँदैछ। ०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले। राम्रो तयारीमा छ। ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु। वामपन्थीले कल्पना नगरे पनि हुन्छ। म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ। एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन। त्यो दुर्घटनामा पर्छ।’
उनले थपे, ‘यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ।’
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताए।