विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ एयरपोर्ट मोडमा रहेको एक कार शोरुमबाट गाडी चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
कार चोरी गर्ने व्यक्ति विराटनगर महानगरपालिका ४ का मन्तोष बिन रहेको प्रहरीले जनाएको छ।
२४ वर्षीय मन्तोषले रातीको समयमा पूजा इन्टरनेसनल प्रालि काठमाडौँको शाखा कार्यालयको अगाडीतर्फ सिसा मात्र रहेको शोरुमको ढोकाको सिसा फुटाएर प्रवेश गरेको प्रहरीले जनाएको छ । भित्र पसेका बिनले शोरुम भित्र खुल्ला घर्रामा राखेको चाबीले गाडी स्टार्ट गरेर भागेका थिए। बिनले टाईगन मोडलको कार र एउटा ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ ।
राति झन्डै २ बजेको समयमा भएको चोरीको बारेमा बिहान मात्रै थाहा पाएर प्रहरीलाई खबर गरेको शोरुमका मेनेजर इन्द्रराज श्रेष्ठले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले दिउँसो झन्डै १ बजे सुनसरीको गढी गाउँपालिका ४ बाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए ।
कार चलाएर भाग्दै गर्दा पेट्रोल सिद्धिएर भर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
उनका अनुसार, सीसीटीभी फुटेजका आधारमा रातो कार देखेपछि चोरीको कार भन्ने पुष्टि गरेर कारका चालक मन्तोष कुमार बिनलाई पक्राउ गरिएको हो। कारसँगै प्रहरीले कारको पछाडिको सिटमा राखेको चोरीको ल्यापटप पनि नियन्त्रणमा लिएको जनाएको छ।
बिन करिब एक महिनाअघि अभद्र व्यवहारमा पक्राउ परेर २० दिनअघि छुटेका प्रहरीले जनाएको छ।