प्रकाश थापामगर, काठमाडौँ ।
प्युठान जिल्लामा रहेको स्वर्गद्वारी मन्दिरसित सम्बन्धित गुठीपीडितको काठमाडौँकेन्द्रित आन्दोलन २०८१ माघ २० गतेदेखि आज (फागुन २ गते शुक्रबार) सम्म जारी छ ।
गत वर्ष २०८१ फागुन ७ गते दुई बुँदे सहमति भए पनि सो सहमति लागु नभएको भन्दै उनीहरूले काठमाडौँकेन्द्रित आन्दोलन गरेका हुन् ।
स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिति दाङको आयोजनामा उनीहरूले शुक्रबार पनि काठमाडौँको माइतीघर मण्डलामा जुलुस प्रदर्शनसँगै धर्ना दिए ।
‘सम्झौता भएको उक वर्ष पुग्दा पनि त्यसलाई कार्यान्वयन नगरिएपछि हामी काठमाडौँ आन्दोलनमा आएका हौँ’ सङ्घर्ष समितिका सहसचिव एवम् प्रवक्ता प्रवीण दहितले युगदर्शनसित भन्नुभयो–’सरकारसित वार्ता भइरहेपछि अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन ।’
उहाँले आफ्ना माग पूरा नहुँदासम्म आफूहरूको आन्दोलन जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्घर्ष समितिका अनुसार दाङको देउखुरीमा करिब एक हजार ५० बिगाह जमिन कमोड गरेर गत सय वर्षदेखि स्वर्गद्वारी मन्दिरका मोही रहेका छन् । १२ मौजा (गाउँ) मा रहेका उनीहरूको जनसङ्ख्या अहिले करिब तीन हजार पाँच सय परिवारमा गरी १६ हजार पुगेको छ ।
आफूहरूसँग मोहियानी पुर्जा भएको तर जमिनको रैतानी हैसियत नभएको बताउने गुठीपीडितले आफ्नो आन्दोलन २०४५ सालदेखि चलाउँदै आएको युगदर्शनलाई जानकारी दिए ।
गत वर्ष २०८१ फागुन ७ गतेदेखि एक महिनासम्म दाङमै आन्दोलन सञ्चालन गरेका मोही र सरकारमाझ दुई बुँदे सम्झौता पनि भएको थियो ।
आन्दोलनकारीले मोहीकै नामा रैतानी हक हुने गरी स्वामित्व कायम हुनुपर्ने, विशेष प्रकृतिको निजी गुठीबाट निष्काशित मोहीको हक पुनर्स्थापना गरिनुपर्ने र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो सम्बन्धित वडा कार्यालयमा बुझाउने व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

