काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।
२०८१ माघ २९ गते मङ्गलबार प्रतिनिधिसभाको शून्य समयमा मन्तव्य राख्दै सांसद केसीले सो माग गर्नुभएको हो ।
‘गाजामा युद्धविराम सम्झौता भएपछि धेरै देशका बन्धकहरू रिहाइ भए तर विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन’ उहाँले भन्नुभयो ।
उहाँले यस सम्बन्धमा सरकारसित प्रश्न गर्नुभयो–’हाम्रो सरकारले जोशी कहाँ छन् ? ज्युँदोमर्दो के अवस्था छ ? त्यसबारे संसद्लाई जानकारी गराउनुपर्दैन ?’
बाहिर बाहिर जोशी जीवत हुनुहुन्छ तर हमासले छोडेन भन्ने खबर सुनिएकोमा यसबाट सरकारको जिम्मेवारी पूरा नहुने उहाँको भनाइ थियो ।
उहाँले थप्नुभयो–’सरकारले के प्रयत्न गरेको छ ? के कोसिस गरेको छ ? कहाँसम्म सङ्घर्ष भइरहेको रिहाइका लागि ? यो संसद्लाई जानकारी गराओस् ।’