काठमाडौँ । विगत १६ महिनादेखि हमासको नियन्त्रणमा रहेको ठानिएका कञ्चनपुरका विपिन जोशीको घरफिर्ती फेरि अनिश्चित बनेको छ ।
विपिनको सकुशल रिहाइका लागि सरकारी पहल प्रभावकारी नभएको टिप्पणी हुन थालेको छ ।
इजरेलबाट प्रकाशित हुने ‘जेरुसलेम पोस्ट’ले तान्जानिया, श्रीलङ्का र नेपालजस्ता देशहरूको ‘कूटनीतिक पहुँच नपुगेका कारण’ ती देश आफ्ना नागरिक मुक्त गर्न पछि परेको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।
इजरायलको सबैभन्दा पुरानो पत्रिकाले गाजामा बन्धक बनाइएका आफ्ना नागरिकहरू पत्ता लगाउन अमेरिकाजस्ता देशहरूले निगरानी गर्ने ड्रोनसहितका स्रोतसाधन इजरायललाई उपलब्ध गराएको सन्दर्भ पनि समाचारमा उल्लेख गरेको छ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित नेपाले आफ्नो कूटनीतिक सम्बन्ध भएका ठाउँहरूमा विपिन जोशीको रिहाइका लागि पहल गरिरहे पनि उनको अवस्था र रिहाइको योजनाबारे कुनै जवाफ नपाएको बताउँछन्।
‘सरकारले आवश्यक सबै प्रयासहरू गरिरहेको छ तर अहिलेसम्म कुनै नयाँ विकासक्रम छैन,’ उनले बीबीसीसँग भनेका छन् ।
परराष्ट्रमन्त्री आरजू राणा देउवाले हालै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन हमाससँग नजिक रहेको ठानिएको इरानका परराष्ट्रमन्त्रीसँग पनि आग्रह गरेकी थिइन्।
नेपालका अधिकारी र कूटनीतिज्ञहरूले इजरेलसहित वार्ताको मध्यस्थता गरिरहेका कतार र इजिप्टलगायत देशका अधिकारीहरूसँग पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आइरहेका छन्।

परिवारसँग विपिन जोशी
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकाल नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेतले विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको बताउँछन्।
‘विपिन जोशीको सुरक्षा र शीघ्र रिहाइका लागि नेपालले सबै तहबाट निरन्तर कूटनीतिक पहल र प्रयत्न जारी राखेको छ र हामीलाई विश्वास छ उहाँ चाँडै नै रिहाइ हुनुहुने छ,’ ढकाल भन्छन्।
इजरायलका राजदूत पण्डितले पनि आफूले हालै मात्रै इजरेलमा रहेका ब्रिटिश, अमेरिकी र जर्मन राजदूतहरूसँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको जानकारी दिए।
सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासले गरेको आक्रमणमा नेपालले विज्ञप्ति जारी गर्न हतार गरेका कारण हमास नेपालप्रति सकारात्मक नभएको हुन सक्ने कुटनीतिक क्षेत्रका विज्ञहरूले टिप्पणी गरेका छन्।
‘हामीले हमासको आक्रमणपछि इजरेललाई समर्थन गरेर हमासलाई दानवीकरण गरेर विज्ञप्ति जारी गर्यौँ। त्यसैको एउटा नकारात्मक प्रभाव पनि हुन सक्छ’, इजरायल र हमासबीच युद्ध सुरु हुनुभन्दा एक वर्ष अघिसम्म कतारका लागि नेपाली राजदूत रहेका नारदराज भारद्वाज भन्छन्।
सरकारले आफ्नो नागरिकप्रति देखाइरहेको जिम्मेवारी सकारात्मक भए पनि नेपालको कूटनीतिक सामर्थ्य निर्माणमा राज्य गम्भीर हुन नसकेको पूर्वराजदूत भारद्वाजको टिप्पणी छ।
डेढ वर्षअघि हमासको अपहरणमा परेका २५१ जनामध्ये अझै ७३ जना गाजामा बन्धक रहेको विवरण आएका छन्। तीमध्ये ३९ जना मात्रै अझैसम्म जीवित रहेको ठानिएको छ।
शनिवारसम्म १३८ जना हमासले बन्धक बनाएका मानिसहरू मुक्त भइसकेका छन्। तीमध्ये ८४ जना इजरायली र २४ जना विदेशी नागरिक छन्।
इजरेलमा अध्ययनका लागि पुगेका नेपालका विपिन जोशीको अवस्था सन् २०२३ नोभेम्बरपछि केही पनि थाहा नभएको राजदूत पण्डितले बताएका छन्।