नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने नेता हुन् ।
पार्टीभित्र उनले गरेको संघर्षका कारण विद्यार्थी संगठनमा उमेरहद तोक्नुका साथै प्रतिष्पर्धाबाट नेतृत्व चयन भएको छ ।
शर्माले राखेको फरक मतले माओवादीभित्र तरंग ल्याइदिएको छ । उनले उठाएका विषय र राखेका मत पार्टी नेतृत्व हत्याउन गरिएको प्रयासका रुपमा माओवादीकै एक पक्षको बुझाई छ ।
सोही विषयमा राससले नेता शर्मासँग कुराकानी गरेको छ । प्रस्तुत छ, राससले गरेको लामो कुराकानीबाट नेतृत्वसम्बन्धी प्रशंग :
पार्टीभित्र तपाइँ नेतृत्वका सवालमा बेलाबखत विवादमा आइरहनु हुन्छ । पार्टी संगठनलाई सुदृढ बनाउन के गर्दै हुनुहुन्छ ?
अब पार्टीमा हिजोको अवस्थाबाट आजको अवस्थामा आइपुग्नुमा जिम्मेवार को त ? पार्टीका नेता जिम्मेवार हुने होला नि त ? मुख्य नेता मुख्य, अरु नेता त्यहीअनुसार हुँदै जाने होला त क्यारे । हामीले कमजोरी गर्यौँ भनेर महसुस गर्नु परेन ? हिजोको वर्ग, दलित, महिला मधेसी, आदिवासी जनजाति, गरिबलाई दिएका आश्वासन पूरा गर्न लाग्यौँ कि कता लाग्यौँ भनेर आज प्रश्न उठिरहेको छ । हो त्यो प्रश्नको जवाफ दिनुपर्छ । हामी विचलित भयौँ भनेर मैले पार्टीभित्र प्रश्न उठाएको हो । त्यसका लागि पार्टीभित्र छलफल हुनुपर्छ । अबको बाटो के हुने भनेर पार्टीमा वैचारिक बहस, विधि र प्रणाली चाहिन्छ । यो पार्टी निर्माणको उद्देश्य र पार्टीलाई बलियो बनाउने विषयमा केन्द्रित भएर लामो छलफल भयो । केन्द्रीय समितिसम्म आइपुग्दा मैले राखेको धारणा नै केन्द्रीय समितिको एजेन्डा बन्यो ।
मैले उठाएका बहस, पार्टीभित्र सुधार गर्ने र पार्टीलाई लोकतान्त्रिक गर्ने बहस, विद्यार्थी सङ्गठन विषयसम्म आइपुग्दा निर्वाचन गरेर त्यसलाई स्थापित गर्ने बहसले पार्टीलाई लोकप्रिय बनाउनेतर्फ नयाँ लहर आएको छ । पार्टीका नेताको सम्पत्ति छानबिन गर्ने कुरा अघि बढाएपछि जनतामा विस्तारै विश्वास जागेको छ । अब फेरि नढाँटीकन, जनतालाई छलछाम नगरी गर्यो भने माओवादी फेरि सशक्त भएर आउने देखिन्छ । मैले अघि सारेको एजेण्डाअनुसार पार्टी केन्द्रमा निर्णय भएका छन् ।
पार्टीभित्र पनि उमेर हद लगाउनुपर्छ यहाँको दृष्टिकोण हो ?
विद्यार्थी सहित पार्टीका सबै मोर्चामा उमेर हद लगाउने, निर्वाचित गर्ने र अवधि तोक्ने कुरा हुन्छ । कुन उपयुक्त हुने हो, अवधि गर्ने कि, उमेर हद लगाउने कि, निर्वाचन प्रक्रियाबाट हल गर्ने कि ? निर्वाचन हुँदा त कति वर्षसम्मले लड्न पाइन्न भन्ने पनि नहुन सक्छ नि । त्यसैकारण मैले यही भन्ने भएन तर महाधिवेशनमा जाँदा यी विषय निचोडमा पुगिन्छ ।
यहाँले पार्टीभित्र उमेर हद र प्रतिस्पर्धाको कुरा गरिरहँदा पार्टी नेतृत्व लिनका लागि पूर्वयोजना बनाइरहेको भन्ने टिप्पणी छ नि ?
हैन, नेतृत्व लिने भनेर योजना बनाएर केही पनि गरेको होइन । माओवादी पार्टी हिजो के थियो ? आज कहाँ छ ? यो कुराको समीक्षा गरेको हो मैले । हिजो माओवादीको लहर आज किन घट्यो ? किन हामीले निर्वाचन क्षेत्रको रक्षा गर्न सकेनौँ ? भन्नैपर्छ, जनताका समस्या हामीले सुनेनौँ । त्यसैले जनताका समस्या हल गर्ने, हामीले जुन वर्गको प्रतिनिधित्व गर्ने भन्छौँ, त्यसको समस्या हल गर्न सक्ने हैसियत माओवादीसँग हुनुपर्यो नि । त्यो हैसियत राख्न सक्ने पार्टी बनाउन सक्नुपर्छ भन्ने बहस हो यो ।
त्यो बहस गर्दा आरोप लगाउनेले भन्लान् नेतृत्व गर्नलाई यति गर्यो भनेर । म पार्टी नेतृत्व लिन्छु र लिन्न भनेर हुने होइन, त्यो त परिस्थिति, आन्दोलन र संयोगले हुने कुरा हो । नेतृत्वको अभिलाषा गरेर बहस गरेको होइन, पार्टीभित्र सुधार आन्दोलनको कुरा गरेको हो । पार्टीलाई बलियो बनाएर संविधान र जनअधिकारको रक्षा गर्ने हो ।