मेघराज भट्टराई ##
हामी नेपाली प्रकृतिसँग यसरी जोडिएका थियौँ कि हाम्रो जीवन यसैमा टिकेको थियो; जस्तो कि पहाडका गाउँघरमा पाँच/सातओटा गाईगारु, पाँच/सातओटा बाख्रा, एकदुईटा भैँसी, अलिकति पाखोबारी, एउटा सानो घर र गोठ, अलिकति खेत, सानो खरबारी भए हामी सजिलै बाच्न सक्थ्यौँ । हामीले यिनै सम्पत्तिको उपयोग गरेर ठुला भयौँ । यसैबाट जीवन निर्वाह भयो । यसरी गाउँघरमा हामीलाई चाहिने आधारभूत कुरा उपलब्ध भएको थियो ।
खेती गर्न चाहिने खेतबारी, मलको स्रोत गाईगोरु, भैँसी, बाख्रा हामीसित थिए । ती जनावर बाच्नका लागि खर, घुर, पराल, डालेघाँस, आफ्नो डोरामा या नजिकको वनमा निःशुल्क उपलब्ध थियो । खाना पकाउने इन्धनको काम दाउरा वा गोबरको गुँइंठाबाट गरिन्थ्यो । उज्यालोको लागि सल्लाको रुखबाट दियालो काटिन्थ्यो, त्यो पनि आफ्नो बारी, खरबारी या नजिकको वनबाट । घर छाउने वनकसी खर आफ्नैमा निःशुल्क थियो । गाईगोरु मरेपछि छालाबाट जुत्ता बनाउने, भेडाच्याङ्ग्राबाट तातो जुत्ता, कोट, ज्याकेट, बख्खु बन्ने अर्थात् हामीलाई पैसा चाहिने भनेको त्यो बेला नुन, मट्टितेल, वर्षको दुई जोर कपडाका लागि थियो ।
स्कुलमा फी न्यून थियो । सबै सरकारी स्कुलमै पढेका हौँ हाम्रो पुस्ताले । गाउँघर, वनपाखा, पानीपधेरो, खेतीपाती सबै गाउँमा सँगै हुन्थ्यो ।
सबैले मकै भाँच्ने बेला सँगै सुरु हुन्थ्यो । श्रम साझा गरेर अर्थात् परिमो गरेर, ऐँचोपैचो गरेर जीवन चलेको हुन्थ्यो ।
हाम्रा मेलापर्व रमाइलो गरी मनाउने नेपाली जातिमा आर्थिक अभाव थियो तर त्यसको प्रभाव खासै परेन । दुःख अवश्य थियो । फेरि पनि हामी शारीरिक दुःखलाई मानसिक रोगी बनेर जीवन बर्बाद गर्नतिर कोही लागेनौँ । हामी पैसा कमाउन परदेश जान्थ्यौँ, वर्षदिन, एक महिनामा घर फर्की आउथ्यौँ । गीतसङ्गीत, मुरली, मादल, मुर्चुङ्गा, बासुरी, सहनाई बाजा, खैजडी हाम्रा सङ्गीतका माध्यम हुन्थे । ती वाद्यवादन सामान स्वयम् नेपालीले बनाउँथे ।
गाउँमा दर्जीलाई भ्याइनभ्याइ हुन्थ्यो । आरने दाइलाई कालोमैलो भएर पनि खलाँतीमा बस्नुपथ्र्यो । घन ठोकेर औजार गाउँघरमैँ बनेको थियो ।
घास, खर, घुर्रो, बास, चोया, खेतीपाती तिनै औजारबाट गरिन्थ्यो । गाडी, मोटर थिएन । घण्टौँ पैदल हिँडेर हाटबजार, मेलादेखि सन्देश पु¥याउने काम हामीले हिँडेरै गरेका हुन्थ्यौँ ।
पैसाको महत्त्व गरिबका लागि इमान बेचेर कमाउनुपर्नेसम्मको थिएन । हामी पूरा पूरा प्रकृतिसँग जोडिएका थियौँ । न पानीको बिल तिर्नुपरोस्, न ग्याँस किन्नुपरोस्, न बिजुलीको महसुल तिर्नुपरोस्, न खेतबारीमा विषादी छिँट्नुपरोस्—सबै पारम्पारिक रूपमा प्राकृतिक थिए । दुःख भएर पनि खुसी थियौँ । भजन, झ्याउरे, देउडा, दोहोर जस्ता गीतसङ्गीतबाट पिरव्यथा बिर्साउने गथ्र्यौं । हामी यस्तै थियौँ ।
परिवार सगोलको हुन्थ्यो । यसमा भावनात्मक सम्बन्ध सुमधुर थियो । बाजे, बोई, जेठो बा, माइलो बा, कान्छो बा, फुपू, दाइभाइ, दिदीबहिनी सबैको मानसम्मान, मायाममता जोडिएको हुन्थ्यो । वृद्धाश्रमको नाम सुनेका थिएनौँ हामीले । गाउँघरका श्रम सँगै गर्ने हुँदा सम्बन्ध पनि प्रगाढ थियो एकार्काप्रति ।
सडक, कुलो, चौतारो, मठ, स्कुल जनश्रमदानबाट निर्माण गरिन्थ्यो । तिज आउन लाग्दा पिङ हालेर आमा, दिदीबहिनी, चेलीबेटीलाई मनको बह पोख्ने सामूहिक ठाउँ बनाएका हुन्थ्यौँ । दशैँमा खसीबोका, राँगापाडा, कुखुरा खाने गरिन्थ्यो । ती सबै प्रायः आफूले पालेका हुन्थे ।
तिहारमा देउसीभैलो खेलिन्थ्यो ।
आज एकादेशको कथाजस्तो लाग्ने भयो, चिनीरोग, प्रेसर, पायल्स, फिस्टुला, भगन्दर, थाइराइडजस्ता रोग । त्यसका नामसम्म हामीलाई थाहा थिएन । उकालोओरालो गर्दा शारीरिक श्रम हुन्थ्यो । रोगले मान्छेलाई धेरै दुःख दिने अवस्था कम थियो । हामी स्वाभिमानी, इमानदार थियौँ ।
एउटा पञ्चायतको मान्छे, एकले अर्कोलाई चिन्थ्यौँ । बोलीको ठेगान हुन्थ्यो । विश्वास कायम थियो ।
आज यी सबै काल्पनिक कथाजस्तो लाग्न सक्छ । जब देशमा नवउदारवादी नीति भित्रियो, सबै चिजमा पैसाको स्थान पहिलो हुन गयो । वन छ, काठ छुन पाइन्न । गाईबाख्राका लागि घास काट्न पाइँदैन । नदी बगेको छ, खेतबारी सिँचाइ गर्न दिइँदैन । यही कारण पशुपालन रोकियो ।
मल पाइएन उत्पादन हुन छोड्यो । वर्षा हुन छोड्यो । खेतीपाती भए पनि खेतबारी बाझो भए ।
जब बैङ्कका नाममा लुटेरा आए, समाजमा विश्वास हरायो । भावनात्मक सम्बन्ध हराउँदै गयो । मान्छेलाई रासायनिक मल, औषधी, खाने कुरामा लिप्त बनाइयो र रोगी हुँदै गए । पर्यावरण जोगाउने नाममा हामीलाई वन छिर्न नदिने तर साम्राज्यवादीहरू आणविक भट्टी चलाउने, वनमा डढेलो लगाउने प्रकृतिको दोहन गर्न लागे ।
नेपाली समाजलाई खन्डित पार्न द्वन्द्वयुक्त क्रियाकलाप गराउने विभिन्न एनजिओ/आइएनजिओमार्फत धर्म परिवर्तन गराउने, साम्प्रदायिक द्वन्द गराउनका लागी ठुला लगानी नेपाल भित्रियो । हाम्रो मौलिकता संस्कार, सभ्यतामा खलल पु¥याएर देशलाई द्वन्द्वमा लैजाने काम भयो ।
गाउँबाट निकालिएको मान्छे फर्केर गाउँ जान सकेन । सहरको बसाइ अत्यधिक महँगो भयो । मान्छेले मान्छे बेच्न थाल्यो । चेलीबेटीहरू दिल्ली, बम्बई, कलकत्ताजस्ता भारतीय सहरमा विक्री गर्न लगियो । कसैको विश्वास रहेन ।
आधुनिकताको नाममा बुबाआमालाई सडकको बास गराइयो । छोराछोरीलाई होस्टलमा राख्ने क्रियाकलाप गर्दा मान्छे रोबोटजस्तो भावनाविहीन क्रुद्ध बन्यो । पैसाको पछाडि इमानजमान, नैतिकता सबै बेचेर राष्ट्रघाती दलाल बन्न विवश भयो ।
भ्रष्टाचार, व्यभिचार, जालीफटाह बनेर जसरी भए पनि पैसाको पछि दौडिरहेको छ । अबको नेपालमा बिनापैसा सास फेर्न पनि नसक्ने भयो ।
यो सब दलाल पुँजीवादी व्यवस्थाको देन हो । यसले केवल पैसालाई मात्र महत्त्व दियो । आमाबाबालाई असहाय बनायो । कमजोर मान्छेलाई पनि बाच्ने हक छ, उसको स्याहारसुसार गर्दा मन्दिर जानुपर्दैन भन्ने नेपाली समाज अब बुढा बाबाआमालाई घरनिकाला गर्छ; आश्रम पठाउँछ अनि यज्ञ लगाएर मानवसेवाको पाखन्ड गर्छ । न राज्यले हेर्छ, न परिवारले । असहाय मान्छे बनाउन छोडेपछि यो महायज्ञ लगाउन पर्दैन, कि कसो ? अबको लडाइँ यो दलाल पुँजीवाद विरुद्धहुनु पर्दैन र ?