काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सर्लाहीमा अन्तरजातीय विवाह गरेका जोडीमाथि दमन भएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।
२०८१ माघ २४ गते बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सो सो मामिलामा आपत्ति प्रकट गर्नुभएको हो ।
‘सर्लाही जिल्ला वरहथवा नगरपालिका वडा नं. १० का सत्यन्तकुमार राम र सोही नगरपालिकाको वडा नं. १७ निवासी रौनियारबिच प्रेमविवाह भएको थियो’ उहाँले भन्नुभयो– ‘उनीहरूले गत पुस ३ गते कपिलवस्तु अदालतमा विवाह दर्ता गराएका पनि थिए ।’
सांसद विश्वकर्माले अगाडि भन्नुभयो– ‘माननीय गृहमन्त्रीको आदेशमा खटिएका प्रहरीले भारतको बम्बै पुगेर उनीहरूलाई पक्राउ गरे । दिल्ली ल्याएर अप्ठ्यारो परेपछि छाडिएको भन्ने छ ।’
सांसद विश्वकर्माले अन्तरजातीय विवाह भएको जोडीमाथि उनीहरूमाथि दमन हुनु दुखद भएको बताउनुभयो ।
उहाँले यस खालको दमन हुनु गम्भीर चिन्ताको विषय भएकोसमेत स्पष्ट पार्नुभयो ।