दाङ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनसमेतका पिता स्मृतिशेष नरबहादुर पुनको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
२०८१ माघ १८ गते घोराही–८ सेवारस्थित आफ्नै निवासमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाका घोराही नगर समितिका सदस्य जितबहादुर पुनको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको प्रमुख वक्ता अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम हुनुहुन्थ्यो ।
कार्यक्रममा शोकमन्तव्य राख्दै उहाँले स्मृतिशेष पुनका राम्रा कामको अनुसरण गरेर नै उहाँप्रति सच्चा श्रद्धाञ्जली दिन सकिने बताउनुभयो ।
सहभागीलाई स्वागत कतार नेपाली एकता समाजका महासचिवसमेत रहनुभएका स्मृतिशेष नरबहादुरका कान्छा छोरा मीनराज पुनले गर्नुभएको थियो ।
मृतक पुनको सङ्क्षिप्त जीवनी लुमाकान्त पुनले राख्नुभएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका लीलाबहादुर पुन, राजमो दाङ जिल्ला समितिका सदस्य मेघराज भट्टराई, राजमो घोराही नगर समितिका अध्यक्ष मनिराम खनाल र जातीय समता समाजका पूर्व केन्द्रीय सचिव चन्द्रबहादुर नेपालीले पनि शोकमन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजामो घोराहीका नगर सचिव बलदेव विकले गर्नुभएको थियो ।
स्मृतिशेष नरबहादुरको परिवारमा चार छोराहरू जितबहादुर पुन, लुमाकान्त पुन, गिरिराज पुन र मीनराज पुन तथा बुहारीहरू हुकुमा पुन, लक्ष्मी पुन, बिना पुन, निमा पुन र रेनु पुनलगायत हुनुहुन्छ ।
रोल्पाको उवाबाट प्युठानको साविक कोचिबाङको घुर्चेमा बसाइँ सरेको पुन परिवार २०६६ सालमा पुनः बसाइँ सरी दाङको घोराहीमा बसोबास गर्दै आएको छ ।
