काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाले सङ्घीयता रहँदासम्म देशको उन्नति हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।
राजमो काठमाडौँद्वारा २०८१ माघ १२ गते शनिबार नागार्जुन नगरपालिकाको फस्कुचोकमा आयोजित सभामा मन्तव्य राख्दै नेता थापाले सो दाबी गर्नुभएको हो ।
‘सङ्घीयताले नेपाली जनतामाथि आर्थिक बोझ बोकाएको छ’ उहाँले भननुभयो– ‘अर्कातिर सङ्घीयता कारण भ्रष्टाचार मौलाएको छ, विकास निर्माणका काम कुण्ठित भएका छन् ।’
उहाँको निष्कर्ष थियो– ‘सङ्घीयता खारेज नहुँदा देशको उन्नति हुँदैन ।’
इतिहासमा नेपाली जनताले कहिल्यै पनि सङ्घीयताको पक्षमा आन्दोलन नगरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘विदेशीले जबर्जस्ती भित्र्याइदिएको सङ्घीयतालाई हामीले जति सकिन्छ छिटो फ्याक्नुपर्दछ ।’
सङ्घीयतासमेतको बेथितीले नयाँ पुस्ताले देशमा भविष्य नदेखेको बताउँदै उहाँले सत्तारूढ दलसित देश निर्माणको कुनै योजना नभएको आरोप उहाँले लगाउनुभयो ।
उहाँले भन्नुभयो– ‘सङ्घीयता नेता पाल्ने व्यवस्था सावित भएको छ । सङ्घीयता रहँदासम्म गरिबी, अभाव, बेरोजगारी तीव्र गतिमा बढ्ने छ । त्यसैले जति सकिन्छ, छिटो यसलाई खारेज गर्नुपर्दछ ।’
नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरो प्रवक्ता समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त सभाको अध्यक्षता राजमो नागार्जुन पालिका समितिका अध्यक्ष केबी घलेले गर्नुभएको थियो ।