काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले राजमोले सङ्घीयताको विकल्प दिँदै आएको दाबी गर्नुभएको छ ।
‘जतिखेरदेखि सत्तारूढ दलहरूले सङ्घीयता स्वीकारे, त्यति बेलादेखि नै हामीले त्यसको विकल्प दिँदै आएका छौँ’ उहाँले भन्नुभयो– ‘प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनको आधारमा एकात्मक शासन नेपालका लागि सही विकल्प हो भन्ने हाम्रो धारणा रहेको छ ।’
२०८१ माघ ९ गते बुधबार राजमो काठमाडौँद्वारा नागार्जुन नगरपालिकाको रानीवनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

सम्बोधनको क्रममा उहाँले अहिले मात्र नभएर सङ्घीयताको विकल्प दिने काम पहिले पनि गर्ने गरेको स्मरण गर्नुभयो ।
‘हामीले अहिले मात्रै सङ्घीयताको विरोध गरेका होइनौँ, जबर्जस्ती सङ्घीयता भित्राइएदेखि नै त्यसको विकल्पका साथ हामी प्रस्तुत हुने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘२०७२ सालमा संविधान जारी हुँदा नै हाम्रोतर्फबाट थुप्रै संशोधन प्रस्ताव दर्ता गराएका थियौँ ।’

राजमोनेतृ पौडेलले राष्ट्रिय जनमोर्चा सङ्घीयताको सवालमा सुरुदेखि नै प्रष्ट रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले गणतन्त्रको संस्थागत विकासमा जोड दिँदै सङ्घीयताको विरोध गर्दै आएका छौँ तर नेपाली जनतालाई सङ्घीयता कुन चराको नाम हो ? अझैसम्म पनि थाहा छैन ।’
उहाँले नेपालमा सङ्घीयताको बारेमा जनतालाई छलफल नै गर्न नदिइकन जबर्जस्ती लागु गर्ने प्रयास भइरहेको बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले सङ्घीय प्रदेशको सट्टा आफूहरू स्थानीय तहलाई बलियो बनाउने पक्षमा रहेको बताउनुभयो ।

‘स्थानीय तहलाई बलियो बनाएर विकासको मूल फुटाउनुपर्छ’ उहाँले भन्नुभयो– ‘सङ्घीयतामा गरिएको खर्च बालुवामा पानी खन्याएजस्तै हो ।
उहाँले सङ्घीयताको लागि अनुत्पादक क्षेत्रमा लगानी गर्दा देश आर्थिक रूपमा टाट पल्टिँदै गएको विश्लेषण प्रस्तुत गर्नुभयो ।
सङ्घीयता विरोधी आन्दोलन राष्ट्र जोगाउने आन्दोलन भएको बताउँदै उहाँले त्यसमा साथ दिन आग्रहसमेत गर्नुभयो ।
राजमो नागार्जुन नगर समितिका अध्यक्ष केबी घलेको अध्यक्षतमा अघि बढेको सो कार्यक्रमको सञ्चालन जातीय समता समाजका महासचिव भक्त विश्वकर्माले तथा स्वागत राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष लालबहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो ।

