बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सङ्घीयता विरोधी आन्दोलन आफ्नो पार्टीको मात्र नभएर सम्पूर्ण देशभक्त नेपालीको आन्दोलन भएको स्पष्ट पार्नुभएको छ ।
२०८१ माघ ८ गते मङ्गलबार राजमो रुपन्देहीले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको सन्दर्भमा उहाँले यस्तो स्पष्टीकरण दिनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राजमोको आन्दोलनलाई सघाउन सम्पूर्ण देशभक्त जनतासित अपिल गर्नुभयो ।

सङ्घीयता देशको हितमा नभएको बताउँदै उहाँले यो शासनप्रणाली भिराउनेको भन्दा भिर्नेबाट नै देशमा समस्या उत्पन्न भइरहेको बताउनुभयो ।
‘सङ्घीयताको नामबाट नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र लोकतन्त्रलाई सिध्याउँछन् कि भन्ने खतरा बढेको छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष केसीले आन्दोलनलाई सफल बनाउन गत मङ्सिरमा जिल्लादेखि टोलसम्मका भेला सम्पन्न गरिसकेको र पुसमा विभिन्न तहका प्रशिक्षण कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।
तयारी कार्यक्रम घोषणा
कार्यक्रममा राजमो रुपन्देहीले तयारी राष्ट्रिय जनमोर्चाले तयारी कार्यक्रम घोषणा गरेको हो ।
राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको अध्यक्षता अघि बढेको पत्रकार सम्मेलनमा राजधानीकेन्द्रित आन्दोलनको पक्षमा रुपन्देहीमा राजनीतिक वातावरण तयार पार्न जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्तेलेखनजस्ता कामलाई तीव्रता दिइने बताइएको छ ।

घोषित कार्यक्रमअनुसार माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभा सम्पन्न गरिने छ ।
सम्मेलनमा वितरित प्रेसवक्तव्यमा गत पुस २१ गतेदेखि सुरु भएको सङ्गठनात्मक अभियान फागुन २१ गतेसम्म तीव्रताका साथ चल्ने उल्लेख छ ।
त्यस्तै, फागुन ३ गते बुटवलदेखि बेलहियासम्म मोटरसाइकल ऱ्यालीको आयोजना गरिने छ भने फागुन ४ गतेदेखि चैत १५ गतेसम्म जिल्लाव्यापी आर्थिक अभियान सङ्कलन गरिने भएको छ ।






