• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पुनः चर्चा ‘कामरेड जलजला’ उपन्यासको


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    का. जलजला उपन्यास प्रकाशित भइसकेपछि त्यसमाथिको यो मेरो तेस्रो लेख हो ।

    उपन्यास विभिन्न दृष्टिकोणले धेरै नै महत्त्वपूर्ण छ । संसारभरि नै कम्युनिस्ट आन्दोलनमा चरम निराशा देखा परिरहेको परिप्रेक्ष्यमा यो उपन्यास आशाको किरणसहित प्रस्तुत भएको छ । त्यस अर्थमा यो कृतिको अन्तर्राष्ट्रिय महत्त्व पनि छ ।

    यो बताइरहनुपर्ने आवश्यकता छैन कि म्याक्सिम गोर्कीको आमाले विश्व कम्युनिस्ट आन्दोलनमा लागेका वा दासता, शोषण विरुद्धको आन्दोलनमा लागेका सबैका लागि प्रिय कृति र प्रेरणाको श्रोतको रूपमा काम गरिरहेको छ । यसको प्रभाव र असर रुसी क्रान्तिमा मात्र नभएर विश्वभरि नै पऱ्यो र परिरहेको छ ।

    निकोलाई चेर्निसेभस्कीको “के गर्ने” भन्ने उपन्यास पनि रुसी क्रान्तिकारीका लागि प्रिय उपन्यास बनेको थियो । लेनिनले यो उपन्यासलाई कैयौँपटक दोहोऱ्याएर पढेका थिए । रुसी क्रान्तिको उत्थान, विकासको अवधिमा मात्र नभएर रुसी क्रान्ति ओरालो लागेका बेला, असफल भएको, पार्टीभित्र गम्भीर सङ्कट देखा परेको बेला यहाँसम्मको लेनिन मृत्युसँग जुधिरहेको अवस्थामा पनि “के गर्ने” उपन्यास अध्ययन गरेको विभिन्न संस्मरणमा पाइन्छ । त्यस आधारमा यो उपन्यासले लेनिन र रुसी क्रान्तिकारीलाई धेरै नै प्रभावित पारेको थियो भन्ने कुरा बुझ्न सकिन्छ ।
    चिनियाँ लेखक याङ मोद्वारा लेखिएको “युवाहरूको गीत” जापानी साम्राज्यवाद विरोधी आन्दोलनलाई आधार बनाएर लेखिएको थियो । चीनका कतिपय भूभाग जापानीले कब्जा गरेपछि त्यस विरुद्ध चीनमा सञ्चालित साम्राज्यवाद विरोधी आन्दोलनलाई उपन्यासले आधार बनाएको छ । साम्राज्यवाद विरुद्ध उत्पीडित राष्ट्रले गरिरहेको सङ्घर्षमा “युवाहरूको गीत” को महत्त्व स्वतःसिद्ध छ । “युवाहरूको गीत” को समीक्षा गर्दै गुगलमा जापान र इन्डोनेसियाको कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको सदस्यता प्रदान गर्न “युवाहरूको गीत” अनिवार्य अध्ययन गरेको हुनुपर्ने पूर्वसर्तसमेत राखेको उल्लेख छ । जापानी तथा इन्डोनेसियाको कम्युनिस्ट पार्टीले याङ मोको उपन्यास युवाको गीतको अध्ययनलाई आफ्नो पार्टी सदस्यता प्रदान गर्ने पूर्वसर्त बनाइनुबाट प्रस्ट हुन्छ कि त्यो उपन्यास साम्राज्यवाद विरोधी आन्दोलनका लागि एउटा दरिलो हतियारको भूमिका खेलेको थियो ।

    उपर्युक्त केही सङ्क्षिप्त विवरणबाट यो कालजयी कृतिले कम्युनिस्ट आन्दोलनलाई पारेको प्रभावको अनुमान गर्न सक्छौँ । त्यस अर्थमा कम्युनिस्ट आन्दोलनमा सर्वत्र निराशाको पृष्ठभूमिमा प्रकाशित कामरेड जलजला उपन्यासले जोड दिएको मार्क्सवादी दर्शन, सर्वहारा दृष्टिकोण, क्रान्तिको भविष्यप्रतिको आशावादले अँध्यारोको साम्राज्यमा जुनकिरीको प्रकाशको काम गरिरहेको छ । निष्काम सेवाको शिक्षाका लागि यो उपन्यास नेपाल र विश्वमा भएका सबै कम्युनिस्टका लागि श्रोत सामग्री भूमिका खेल्ने छ ।

    क्रान्तिकारी आशावाद

    उपन्यासले क्रान्तिको भविष्यप्रति आशा जगाउने काम गरेको छ । उपन्यासले क्रान्तिकारी आशावादको सन्देशमा जोड दिएको छ ।
    आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन निकै कमजोर र रक्षात्मक अवस्थामा छ । विगतमा स्थापना भएका समाजवादी मुलुकमा प्रतिक्रान्ति भएर ती मुलुकमा पुँजीवादको पुनर्स्थापना हुनुका साथै त्यहाँको पुँजीवादले साम्राज्यवादको रूप लिएको छ । ठुला ठुला कम्युनिस्ट पार्टी उनीहरूको नेतृत्वका सशस्त्र जनसेना स्थापित आधार इलाका सबै ध्वस्त भएका छन् । सबैतिर पुँजीवादको एकल जगजगी वा साम्राज्य छ । हाम्रो छिमेकी भारतको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । भारतीय समाजलाई प्रतिगमनतर्फ लैजान चाहने शक्ति झन् बलिया भएका छन् ।

    विश्व कम्युनिस्ट आन्दोलनको भन्दा बेग्लै स्थिति नेपालको पनि छैन । नेपालमा पनि कम्युनिस्ट आन्दोलन पहिलाको भन्दा निकै कमजोर भएर गएको छ । कम्युनिस्ट आन्दोलनप्रति विकर्षण पैदा गर्न साम्राज्यवादीले योजनाबद्ध ढङ्गबाट षड्यन्त्र गरिरहेका छन् । त्यो षड्यन्त्रमा उनीहरू धेरै हदसम्म सफल हुँदै पनि गइरहेका छन् । कम्युनिस्ट आन्दोलनसँग युवाहरूको ठुलो सङ्ख्याको सम्वन्धविच्छेद गराइएको छ । यी सबै अवस्था हेर्दा तत्काल कम्युनिस्ट आन्दोलनको भविष्य निकै अन्धकार देखिन्छ तर उपन्यासले भन्छ– “यो सबै कुरा अस्थायी हो ।” अन्ततः क्रान्ति भइछोड्ने छ ।

    विश्वभरिका कम्युनिस्ट यी सबै बाधा अवरोध र सङ्कटका बिचबाट आन्दोलनलाई अगाडि बढाउन प्रयत्नरत छन् । उनीहरू आज कमजोर वा रक्षात्मक भए पनि अन्ततः एक दिन शक्तिशाली हुनेछन् र क्रान्ति भई छाड्नेछन् । लेखकले क्रान्तिको भविष्यप्रति आशा त्यतिकै गरेका छैनन् । लेखकले सामाजिक विज्ञानलाई आधार बनाएर क्रान्तिकारी आशावादलाई जगाउन खोजेका छन् ।

    अहिलेको हाम्रो समाजमा उत्पादनको प्रकृति हेर्दा त्यो सामूहिकतामा आधारित छ तर त्यसको स्वामित्व व्यक्तिविशेषमा छ । सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्वका बिच चल्ने अन्तरविरोधको समाधान समाजवादी क्रान्ति नै हो । आफ्नो सत्ता टिकाउन पुँजीवादले अनेकौँ जालझेल, षड्यन्त्र, दमन, हिंसाको बाटो अपनाए पनि अन्ततः क्रान्ति भइछाड्छ । क्रान्तिकारी आशावाद विज्ञानका सिद्धान्तमाथि आधारित छ । उपन्यासले क्रान्तिको भविष्यप्रति विश्वास गर्न प्रेरित गरेको छ ।

    सर्वहारा दृष्टिकोणमा जोड

    हाम्रो समाज दिनप्रतिदिन पुँजीवादी उपभोक्तावादी संस्कृतिको दलदलमा फस्दै गएको छ । युवाहरूका बिच “कमाउने र रमाउने” डरलाग्दो भाष्य र जीवनशैलीको निर्माण तीव्र ढङ्गबाट भइरहेको छ । समाज, राष्ट्र्र, जनताप्रतिको दायित्व वा जिम्मेवारीबोधको भावनाबाट क्रमशः कमाउने र रमाउनेजस्तो व्यक्तिवादी प्रवृत्तिमा चुर्ल्लुम डुब्दै गइरहेको छ । त्यति मात्र नभएर निष्काम सेवाभावमा आधारित भएर कम्युनिस्ट पार्टीमा काम गर्ने स्प्रिटका विरुद्ध वैयक्तिक लाभका लागि राजनीति गर्ने संस्कृति जब्बर हुँदै गएको छ । राजनीति सेवाभन्दा व्यापार बनिरहेको छ तर लेखकले उपन्यासमार्फत् सबैभन्दा महान् कार्य र लक्ष्य समाजको सेवाका लागि आफूलाई सम्पूर्ण रूपमा न्योच्छावर गर्नुपर्ने सन्देश दिएका छन ।

    अहिलेको समाजको चेतनाले व्यक्तिवादलाई प्रश्रय दिन्छ तर लेखक उपन्यासमार्फत् त्यसको विपरीत सामूहिकता र सामूहिक हितमा जोड दिएका छन् । समाजसेवालाई नै सबैभन्दा उत्तम कार्यको रूपमा अगाडि सारेका छन् । समाज, राष्ट्र, क्रान्ति र पार्टी कामको दौरान आइपर्ने कष्टमा लेखकले आनन्दको अनुभूति र्गछन् । अरूको लागि बाँच्ने कुरामा आनन्द देख्छन् ।

    हर्के र उजेली

    उपन्यासकारले उपन्यासमा हर्के र उजेलीलाई निरन्तरता दिएका छन् । हर्के र उजेलीसँग लेखकको झन्डै झन्डै साढे ६ दशक लामो सम्बन्ध रहिआएको छ । त्यो सम्बन्धले यो उपन्यासमा पनि निरन्तरता पाएको छ । उपन्यासको परिच्छेद ६४ मा हर्के र उजेली भेटिन्छन् । हर्के र उजेलीसँग लेखकको साढे ६ दशक लामो सम्बन्धको चर्चा नगरी उपन्यासका मुख्य पात्रको चारित्रिक गुण वा विशेषता थाहा पाउन मुस्किल पर्दछ ।

    हर्के र उजेलीको पारिवारिक पृष्ठभूमि बेग्लाबेग्लै छ । हर्केले कमारा (दास) को घरमा जन्म लिएका थिए । त्यसैलाई उनमा केही दब्बुपन थियो तर प्युठानमा सञ्चालन भएको तीनमहिने शिविरले उनलाई नयाँ मान्छेमा परिणत गरिदियो । उजेली सुरुदेखि नै साहसी थिइन् । सबै प्रकारका चुनौतीसँग सामना गर्ने उनमा आँट थियो ।

    लेखकले आधारभूत वर्गका व्यक्तिलाई पात्रको रूपमा चयन गरेर ती पात्रमा क्रान्ति र पार्टीप्रति सम्पूर्ण रूपले समर्पणको भावना, उच्च प्रकारको त्याग र बलिदानको स्प्रिट, वर्गदुस्मनसँग सम्झौताहीन सङ्घर्षको क्षमता, आफ्ना लक्ष्यप्रति लगातार अविचलित र अथक रूपमा अगाडि बढिरहने दृढता र धैर्यता सबै प्रकारका व्यक्तिगत र पारिवारिक हितलाई क्रान्तिका हितका लागि बलिदान गर्ने स्प्रिटलगायतका क्रान्तिकारी गुणले सुसज्जित गराएर अगाडि प्रस्तुत गर्ने प्रयत्न गर्दै आउनुभएको छ । यी गुणलाई लेखकले साहित्यिक कृतिका पात्रमा मात्र नभएर जीवनका वास्तविक पात्रमा पनि निरन्तर खोज्ने अभियान जारी राखेका छन् । क्रान्तिकारी गुणले लेस कैयौँ कार्यकर्ता बिग्रेका, दुस्मनको अगाडि आत्मसमर्पण गरेका कारण लेखक निराश छैनन् । क्रान्तिकारी सिद्धान्तबाट विचलित कार्यकर्ताको ठुलो भग्नावशेषका बिचबाट पनि क्रान्तिकारी गुणको सम्भावना भएकासँग लेखक जोडिन पुग्छन् ।

    हर्के र उजेली लेखकका आदर्श पात्र हुन् तर ती दुईटै वास्तविक नभएर काल्पनिक पात्र हुन् । हर्के र उजेली काल्पनिक पात्र भए पनि उनीहरूमा भएको गुणलाई वास्तविक जीवनमा त्यस प्रकारका गुणले सम्पन्न पात्र खोज्ने र निर्माण गर्ने प्रयत्न उपन्यासकारको जारी छ । उपन्यासकारले आफ्नो सम्पर्कमा आउने साथीहरूमा हर्के र उजेली जस्तो क्रान्तिकारी गुणविकासको कल्पना गर्छन् । जुन मान्छेमा त्यस प्रकारका गुण हुने सम्भावना देख्छन्, त्यसलाई त्यो गुणमा दृढ रहँदै थप विकास गर्न माया र प्रोत्साहन गर्दै आएका छन् । हर्के र उजेलीजस्ता क्रान्तिकारी गुण भएका सैयौँ, हजारौँ, लाखौँ कार्यकर्ता निर्माणबिना युग परिवर्तनको ऐतिहासिक आवश्यकता पूरा हुन सक्दैन । त्यसैले उपन्यासकारको साढे ६ दशकदेखि हर्के र उजेलीजस्ता क्रान्तिकारी गुणको सम्भावना भएका व्यक्तिलाई खोज्ने कार्य जारी राखेका छन् ।

    जीवनको सफलता

    विद्यमान समाज पुँजीवादी समाज हो । समाज विकासको क्रममा देखिएको वर्गविभाजित समाजको मुख्य चरित्र नै व्यक्तिवादी प्रकारको हुन्छ । अझ झन् त्यसमा पनि पुँजीवादी समाज मुख्यतया निजी सम्पत्तिमाथि आधारित हुन्छ । निजी सम्पत्तिमाथि आधारित पुँजीवादी समाजका सदस्यको चेतना निर्माणमा विद्यमान आर्थिक प्रणालीले मुख्य भूमिका खेलेको हुन्छ । त्यसैले पुँजीवादी समाजका सदस्यको सोचाइ व्यक्तिवादी प्रकारको हुन्छ । उसका सम्पूर्ण सोचाइ, चिन्तन वा व्यवहारमा व्यक्तिवादको असर हुन्छ । त्यसैले पुँजीवादी समाजका सदस्यले जीवनका सफलताको मानक वैयक्तिक लाभलाई बनाएको हुन्छ । त्यसै आधारमा समाजका सदस्यको सोचाइ र चिन्तन निर्माण भएको हुन्छ । पुँजीवादी समाजको मुख्य प्रवृत्ति व्यक्तिगत लाभ भएपछि त्यसका सदस्यको सोचाइको निर्माणमा त्यसको असर पर्नु स्वभाविक हो । पुँजीवादी समाजमा व्यक्तिगत लाभलाई आधार बनाएर सोचाई बनाउने प्रवृत्तिको परिणाम नै पेसा, प्रेम, विवाह, पारिवारिक सम्वन्ध, अध्ययनलगायतका विभिन्न पक्ष छनौट गर्दा व्यक्तिगत लाभलाई आधार बनाएर नै गरिन्छ ।

    व्यक्तिको चिन्तनको मुख्य केन्द्रमा वैयक्तिक स्वार्थले घर गरेको हुन्छ । कुनै पेसा वा विषयको अध्ययनको छनोटबाट लाभ प्राप्त हुन थाल्दछ भने त्यो स्थितिमा समाज र स्वयम्को दृष्टिकोणमा सफलता प्राप्त गरेको ठहरिन्छ । समाजको दृष्टिकोणमा बढीभन्दा बढी पैसा कमाउन सक्ने व्यक्तिको जीवन सफल भएको ठान्ने सोचाइ हुन्छ यद्यपि कैयौँका व्यक्तिगत सोख वा रुचि पनि हुन्छन् । ती रुचि र सोखले मुलुकलाई विश्वसामु चिनाउन धेरै मदत पनि पुगेको हुन्छ; जस्तो : कतिपयको रुचि खेलकुद, पर्वतारोहण, वैज्ञानिक अनुसन्धानलगायतका विषयमा हुन्छ । निश्चित रूपले एउटा खेलाडीले खेलकुदको माध्यमबाट, एउटा पर्वतारोहीले पर्वतारोहणको माध्यमबाट, एउटा वैज्ञानिकले नयाँ नयाँ खोजको माध्यमबाट वा एउटा व्यापारीले व्यापारको माध्यमबाट मुलुकलाई विश्वमा चिनाउन वा त्यो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । मुलकलाई थुप्रै खेलाडी, पर्वतारोही, लेखक, साहित्यकार, वैज्ञानिक, व्यापार क्षेत्रमा काम गर्नेहरू आवश्यक पर्दछन् ।

    सुनन्दाले एउटा कुशल पर्वतारोही बन्न चाहेकी थिइन् । त्यसरी आफ्नो निजी सोखको आधारमा अगाडि बढ्नु र त्यसमा सफलता प्राप्त गर्नुलाई पर्वतारोहण, साहित्य, विज्ञान, खेलकुदलगायतका पेसा अपनाउनेका लागि आफ्नो जीवन सफल भएको ठान्न सक्दछन् तर खेलकुद, पर्वतारोहण, वैज्ञानिक, शिक्षक, प्राध्यापन, चिकित्सालगायतका क्षेत्र सिङ्गो समाजको एउटा अंश मात्रै हो, सम्पूर्ण त समाज नै हो । त्यसैले लेखकले आफ्नो उपन्यासमा सफल जीवनको मुख्य आधार समाजसेवा, पार्टी, क्रान्ति र आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन न्योच्छावर गर्नुलाई बताएका छन् । समाजसेवा, पार्टी, क्रान्ति र परिवर्तनका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्नेहरू उपन्यासको नजरमा आदर्श पात्र हुन् । ती पात्रले समाजसेवा, पार्टी, क्रान्ति र परिवर्तनका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्दा आइपर्ने विभिन्न समस्यासँग जुधेर आफ्नो आस्था र उद्देश्यमा दृढतापूर्वक अगाडि बढ्नेको जीवनलाई उपन्यासकारले सफल जीवन मानेका छन् । समाजसेवा, पार्टी, क्रान्ति र परिवर्तमा आफूलाई सम्पूर्ण रूपले न्योच्छावर वा समर्पण गर्नेहरूको जीवन जतिसुकै कष्टकर, अभाव, गरिबी, पीडा, सामाजिक बदख्वाइँले भरिएको भए पनि लेखकले त्यसलाई जीवनो सफलता ठान्दछन् । त्यसैले उपन्यासकारले पर्वतारोहणमा रुचि भएको र त्यसलाई पेसा बनाउन खोजेकी सुनन्दालाई पर्वतारोहणको पेसाबाट वा समाजसेवाको क्षेत्रमा जान प्रेरित गर्छन् । सुनन्दाका अगाडि पर्वतारोहण वा समाजसेवा मध्ये के रोज्ने ? प्रश्न खडा गरेर पर्वतारोहणको सट्टा समाजसेवा नै उत्तम भएको निष्कर्ष निकाल्न उपन्यासकारले प्रेरित गरेका छन् ।

    निश्चित रूपले सुनन्दाले पर्वतारोहण क्षेत्र रोजेको भए उनको जीवन साहसिक यात्राले भरिएको भए पनि वैभवपूर्ण हुन्थ्यो । सुनन्दासँग पैसाको कुनै अभाव हुदैनथ्यो । सुनन्दालाई पर्वतारोहणको माध्यमबाट यश र धन दुईटै प्राप्त हुन सक्दथ्यो तर समाजसेवाको क्षेत्र रोज्दा उनको जीवनको प्रत्येक पाइलामा काँडैकाँडा, अवरोध, अभाव र सङ्कटले घेरिन पुग्यो । हाम्रो सामाजिक सोचाइअनुसार सुनन्दाले समाजसेवाको क्षेत्र रोजेको हुनाले समाजको नजरमा उनको जीवन बर्बाद भएको र असफल भएको थियो ।

    सुनन्दाले आफ्ना पाइला समाजसेवासम्म मात्र सीमित राखिनन्, मानवीय परोपकारको भावनाबाट माथि उठेर चिथिएका, अपहेलित सर्वहारा वर्गको पक्षमा आफूलाई दृढतापूर्वक खडा गरिन् । उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यताका लागि दर्खास्त दिन पुग्छिन् । नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएर सर्वहारा अन्तर्राष्ट्रयवादका पक्षमा आफूलाई उभ्याउने काम गरिन् । सुनन्दासँग उच्च स्तरको शैक्षिक डिग्री थियो ।
    उनलाई पर्वतारोहणको सौख थियो । पर्वतारोहणको सट्टा प्राज्ञिक कार्यमा लागेर थुप्रै धनसम्पत्ति कमाउन सक्ने सुनन्दाका अगाडि थुप्रै अवसर थिए । जगदीशसँग विवाह गरेर पनि उनले वैभवशाली, सुखी जीवन बिताउन सक्थिन् तर उनले यी सबै कार्यलाई तुच्छ ठानिन् । समाजसेवाको बाटोबाट अगाडि बढ्दै सर्वहारा अन्तर्राष्ट्रवादको पक्षमा आफूलाई समर्पण गरिन् । आफ्नो जीवनको सोचाइ र कार्यलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सामूहिक हितका लागि समर्पण गर्न तयार भइन् । आफ्नो सम्पूर्ण जीवन सामूहिक हितका लागि समर्पण गरेको हुनाले क्रान्तिकारी नैतिकताअनुसार सुनन्दाको जीवन सफल भएको छ तर सामूहिक हित र व्यक्तिगत विकासका बिचको अन्तरतर्फ पनि हाम्रो ध्यान जानुपर्दछ ।

    पुँजीवादी समाजको मुख्य आत्मा पैसा हो । पैसा नभई वा त्यसको अभावमा मान्छेहरूको व्यक्तिगत जीवनको विकास हुन सक्दैन । पैसाको अभावमा राम्रो शिक्षा, स्वास्थ्य, खाना, आवास अवसरबाट मान्छे वञ्चित हुनुपर्ने स्थिति पैदा हुन्छ । कुनै व्यक्ति क्रान्तिकारी आन्दोलनमा लाग्दा उसका नियमित आम्दानीका स्रोत हुँदैनन् । आम्दानी वा पैसाको अभावका कारण एउटा क्रान्तिकारीले आफ्नो छोराछोरीलाई राम्रो शिक्षा, स्वास्थ्य, आवास वा खाना उपलब्ध गराउन सम्भव हुँदैन । पत्नीलाई घर चलाउन आवश्यक रकम दिन पनि गाह्रो हुदै जान्छ । एकातर्फ सामूहिक हितका लागि सङ्घर्ष, अर्कोतर्फ आर्थिक वा आम्दानीको अभावका कारण घरपरिवारले भोगिरहेको भयङ्कर दुःखकष्ट र तनावबिच अन्तरविरोध पैदा हुन थाल्दछ । सामूहिक हित, पार्टी, क्रान्तिमा लागेका कारण घरपरिवारले भोग्नुपरेका आर्थिक समस्याका कारण व्यक्तिगत, पारिवारिक र सामूहिक हितमध्ये कसलाई प्रथामिकता दिने भन्ने प्रश्न खड्किन थाल्छ । आफूले घरपरिवारका लागि केही गर्न नसकेको वा पारिवारिक समस्याका कारण कैयौँले पलायनको बाटो अपनाएको पनि पाइन्छ । आफूले विगतमा बिताएको क्रान्तिकारी जीवनप्रति पछुतो वा पश्चातापको भावना पनि पैदा हुन थाल्दछ । पार्टी, क्रान्तिको काममा लागेर जीवन बर्बाद भएको वा जीवन नै असफल भएको सोचाइले कतिपयलाई घर गर्न थाल्दछ । त्यस्तो अवस्थामा विगतमा क्रान्तिकारी गतिविधिमा लागेको व्यक्ति क्रमशः निष्क्रिय हुँदै जान्छ वा यो व्यवस्थामा अनुकूलका राजनीतिक गतिविधि अर्थात् दक्षिणपन्थी वा प्रतिक्रियवादी बाटोमा अख्तियार गर्छन् ।

    सामूहिक र वैयक्तिक हितका बिचको द्वन्द्वमा एउटा क्रान्तिकारीको पतन हुने गरेका सयकडौँ उदाहरण पाइन्छन् । त्यसरी कुनै व्यक्ति इतिहासको कुनै कालखण्ड वा मोडमा क्रान्तिकारी आन्दोलनमा लाग्छ । लागे पनि क्रान्तिकारी गतिविधिमा उसको निरन्तरताको प्रश्न नै मुख्य हुन जान्छ ।

    लेनिनले वन डे हेयरिङ अर्थात् क्षणिक क्रान्तिकारिताको विरोध गर्दै निरन्तरतामा जोड दिएका छन् । लगातार चल्ने सामूहिक हित र वैयक्तिक हितका बिचको द्वन्दमा केही क्रान्तिकारी पलायनको बाटो अपनाउँछन् । यो यथार्थ हो तर यसको अर्को पक्ष पनि छ, जुन उज्ज्वल र गौरवपूर्ण रहेको छ । त्यो हो– सामूहिक र वैयक्तिक हितका बिचको द्वन्द्वमा सयकडौँ, हजारौँ, लाखौँ क्रान्तिकारीले बलिदान, त्याग र आफ्नो आस्था र उद्देश्यप्रतिको दृढताको क्षेत्रमा कैयौँ नयाँ नयाँ कीर्तिमान र उदाहरण कायम गरेका र गर्दै आएका छन् । त्यही कारण समाजलाई क्रान्तिकारी दिशामा अगाडि बढाउन मदत पुगेको छ ।

    राणाशासन पञ्चायत र राजतन्त्रका विरुद्ध देशभित्र सयकडौँ, हजारौँ नेताकार्यकर्ताले आफूलाई लोकतन्त्र तथा गणतन्त्रको स्थापनाका लागि दशकौँसम्म समर्पण गरे । कैयौँले जेलनेल भोग्नुपऱ्यो । कैयौँ फाँसीमा झुन्ड्याइए । कैयौँको जेल सार्ने नाममा हत्या गरियो । कैयौँ देशबाट निर्वासित जीवन बिताएर सङ्घर्ष गरिरहे । त्यो दौरान उनीहरूका घरपरिवारको बिल्लीबाठ भयो । कैयौँको परिवारले दुःखकष्ट, अपमान, अभाव, गरिबी र राज्यबाट यातनाको जीवन बिताउनुपऱ्यो । तत्कालीन समाजले प्रजातन्त्रका लागि लडेका प्रजातन्त्रवादी तथा वामपन्थी नेताकार्यकर्तालाई बहुलाएको बिल्ला भिराए तर अन्ततः राणा, पञ्चायत र राजतन्त्र ढल्यो । प्रजातन्त्रवादी तथा कम्युनिस्टको अथक सङ्घर्षको परिणाम देशमा गणतन्त्र कायम भएको छ । यदि उनीहरूले दशकौँ सङ्घर्ष नगरेको भए जेलनेल, फाँसी, सङ्घर्षको क्रममा हुने वैयक्तिक बर्बादीको चिन्ता गरेर पलायनको बाटो रोजेको भए नेपाली समाजले राजनीति स्वतन्त्रता प्राप्त गर्न अझ कैयौँ दशक कुर्नुपर्दथ्यो । नेपालका राजा, सामन्त, दरबारियाको हुकुमी शासन र सामन्ती शोषण कायम रहन्थ्यो । राजामहाराजाको विरोधमा बोल्नेहरूको हत्या भइरहन्थ्यो । देश सामन्ती व्यवस्थाको दमन र तानाशाहीको जाँतोमुनि बस्न बाध्य हुन्थ्यो । आफू बर्बाद भएर समाज, राष्ट्रका लागि सङ्घर्ष गर्नेहरूको जीवन असफल हुन सक्दैन ।

    पारिवारिक शासनबाट आफ्नो शासन आफै छान्ने राजनीतिक प्रणालीसम्म नेपाली समाजलाई पुऱ्याउन उनीहरूको त्याग र बलिदानले महत्त्वपूर्ण भूमिका लेखेको छ । नेपाली समाजले राजनीतिक स्वतन्त्रताको उपभोग गर्न पाएका छन् । नेपाली समाजलाई राजनीतिक स्वतन्त्रताको उपयोग गर्न सक्ने अवस्थामा पुऱ्याउने तमाम नेताकार्यकर्ताको जीवन असफल नभएर सफल भएको छ । नेपाली समाजलाई राजनीति स्वतन्त्रताका साथै समानताको चरणमा पुऱ्याउन पनि सङ्घर्ष जारी छ । त्यो सङ्घर्षमा होमिएका लाखौँ कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत रूपमा दुःखकष्ट पाए पनि, उनीहरूको निजी जीवन बर्बाद भए पनि एक दिन नेपाली समाज राजनीतिक स्वतन्त्रतासहितको समानतामूलक समाजको स्थापनाका लागि आफूलाई होम्नेहरूको जीवन बर्बाद नभएर सफल भएको ठानिने छ । यहि वैचारिक सन्देश उपन्यासले दिएको छ ।

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.