नेपालगन्ज । नेपालगन्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो संक्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताउनुभयो ।
उहाँका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।
सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । हाल संक्रमित १०१ पुगेका छन् ।
थप दुईमा संक्रमण
बाँकेमा बिहीबार संक्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहनुभएका खजुरा गाउँपालिका वडा नं ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका वडा नं ३ का ३२ वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको आरटीपीसीआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बस्दै आएका हन् । कोरोना संक्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक बुधबार वडा नं ५ निवासी एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो भने बिहीबार थप एक जनामा पुष्टि भएको छ ।

