शंकरप्रसाद पोखरेल, बुटवल ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) लुम्बिनी प्रदेशको भेला आज दाङ देउखुरीमा सम्पन्न भएको छ। भेलाले रिसव शर्मा (कपिलवस्तु) को अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ।
जसको उपाध्यक्षमा कुलचन्द्र शर्मा (रुपन्देही), सचिव सागर बेल्बासे (अर्घाखाँची), सह सचिव निशा गौतम (नवलपरासी) र कोषाध्यक्षमा सेवक भट्टराई (दाङ) चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरूमा लक्ष्मण पुन (प्युठान), प्रकाश चुँदाली ( अर्घाखाँची), दिनेश रैदाश (दाङ), माधवराज विश्वकर्मा (प्युठान), टिना अदै (कपिलवस्तु), सचिन ढकाल (गुल्मी), अंशु ठडराई (पाल्पा) र सागर एमसी (रुपन्देही) रहनुभएको छ । साथै भेलाले सरोजमान सिंह, खगेन्द्रा विष्ट र केशव बुढाथोकीलाई सल्लाहकारमा चयन गरेको छ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अखिल छैठौंका अध्यक्ष सुवास जि.सि.ले देशको शैक्षिक अवस्था धराशायी अवस्था पुगेको बताउनु भयो । अध्यक्ष जि.सि.ले राज्यले शिक्षालाई उचित ध्यान पुर्याउन नसक्दा देशको शैक्षिक गुणस्तर खस्किएको आरोप लगाउनु भएको थियो । साथै आगामी फाल्गुन १५ गते हुने स्ववियु निर्वाचनमा शतप्रतिशत नजिक हासिल गर्ने गरि मैदान उत्रिन निर्देशन दिनु भएको थियो ।
त्यस्तै पछिल्लो समय युवा विद्यार्थीहरुमा देखा परेको राजनीति प्रतिको चरम वितृष्णा लाई तोड्न , युवाहरू विद्यार्थीहरको विदश पलायन रोक्न अखिल छैठौंले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । शिक्षामा भएको भ्रष्टाचार, चरम लापरबाही रोक्न , विद्यार्थीहरुको हक अधिकार प्राप्त गर्न समेत संगठनले भुमिका खेलेको स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेलले देशले अब संघीयता थेग्न नसक्ने अवस्थामा पुगेको हुँदा यसको खारेजीको लागि राष्ट्रिय जनमोर्चाले चैत २४ गते देखि आयोजना गरेको ७ दिने राजधानी केन्द्रित आन्दोलन सफल पार्न सम्पूर्ण युवा विद्यार्थीहरूको अहम भूमिका हुने हुँदा सबैलाई आन्दोलन सफल पार्न आफ्नो क्षेत्रबाट लाग्न अनुरोध गर्नुभयो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले विद्यार्थी जीवन, अनुशासन तथा देशको शैक्षिक अवस्था सुधारको लागि विद्यार्थी संगठनहरूको कस्तो भूमिका रहने लगायतका विषयमा मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा अखिल (छैठौं)का पूर्वकेन्द्रीय सदस्य सागर बेल्बासे, ऐरावती आदर्श बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति तथा अखिल (छैठौं) दाङका सल्लाहकार ध्रुव बेल्बासे र ऐरावती आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति अशोक खनालको समेत आतिथ्यता रहेको थियो ।
अखिल (छैठौं) लुम्बिनी प्रदेश अध्यक्ष सरोजमान सिंहको अध्यक्षतामा सुरु भएको भेलाको सञ्चालन प्रदेश सह सचिव जीवन नेपालीले गर्नु भएको थियो भने सहभागीहरूलाई प्रदेश उपाध्यक्ष रिसव शर्माले स्वागत गर्नु भएको थियो ।