काठमाडौँ । काठमाडौँ नागार्जुन नगरपालिकाका विभिन्न स्थानमा सङ्घीयताका खारेजीको माग राख्दै कोणसभा आयोजना गरिएको छ ।
राजमो नागार्जुन नगर समितिको २०८१ माघ ३ गते बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
नगर समितिका अध्यक्ष केबी घलेले दिनुभएको जानकारीअनुसार नागार्जुनको राधाकृष्ण मन्दिर, स्युचाटार शालिकचोक, फस्कुचोक, डाँडापौवा, भीमढुङ्गा र रुम्बाचोकमा कोणसभा हुने भएको छ ।
‘कोणसभाको सन्दर्भमा राजमोको सदस्यता वितरण, सङ्घीयताको विरोधमा पर्चा वितरण, सङ्गठन निर्माणका काम पनि सँगसँगै हुने छन्’ उहाँले भन्नुभयो ।
अध्यक्ष घलेका अनुसार चैत २४ देखि ३० गतेसम्मको काठमाडौँकेन्द्रित आन्दोलनलाई लक्षित गरेर सो कार्यक्रम निश्चित गरिएको हो ।
उहाँले भन्नुभयो– ‘कोणसभाको मिति भने पछि निर्धारण गरिने छ ।’
त्यस्तै, आगामी माघ २६ गते अखिल नेपाल महिला सङ्घको नागार्जुनस्तरीय नगर भेला आयोजना गरिएको तथा जालन्धर बन्जाडेलाई राजमो नगर समितिको सल्लाहकारमा नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रशिक्षण दिनुभएको पनि उहाँले बताउनुभयो ।