निखिल रावत, सुरत (भारत) ।
गुजरातको सुरतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खुल्ला पुरुष प्रतियोगिता सम्पन्न गरेको छ ।
सुरत नगर समितिअन्तर्गत खेल विभागको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
खेलको उद्घाटन केन्द्रीय सदस्य गोविन्दबहादुर थापाले पिचमा ब्याट र बल हानेर गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले मूल प्रवाह प्रवासमा रहेका हरेक नेपालीको अभिभावक सङ्गठन भएको दावी गर्नुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्की, केन्द्रीय सल्लाहकार ध्रुव न्यौपाने, क्षेत्रीय सदस्य निखिल रावत, पूर्ण विक, सुरत महिला विभागकी संयोजक शान्ति तिरुवालगायतको आतिथ्य रहेको थियो ।

आठ टिमको सहभागिता रहेको सो प्रतियोगितामा किसन पार्की क्याप्टन रहेको के टाइगर प्रथम र दीपेश परियार क्याप्टन रहेको सान्निकोट युवा क्लब द्वितीय भएका थिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रकाश सोनीलाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको थियो ।
विजयी प्रथम टिमलाई प्रमुख अतिथि थापाले, द्वितीय सान्निकोट युवा क्लवलाई कार्कीले र उत्कृष्ट खेलाडी प्रकाश सोनीलाई न्यापाने, जनाला र विकले सम्मान गर्नुभएको थियो ।
खेल विभागका संयोजक प्रकाश जनालाको अध्यक्षता तथा नगर सचिव भीम साउदको सञ्चालन र राज पार्कीको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियो ।