केरसिंह अदै, तौलिहवा ।
कपिलवस्तुमा अखिल नेपाल महिला सङ्घको आठौँ जिल्ला भेला सम्पन्न भएको छ ।
महासचिव शकुन्तला रानाको प्रमुख आतिथ्यमा २०८१ पुस २४ गते बुधबार गोरुसिङ्गेमा सो भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले देशमा गणतन्त्र ल्याउन महिलाको महत्त्वपूर्ण योगदान रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले महत्त्वपूर्ण राजनीतिक परिवर्तनका बाबजुद वर्तमान व्यवस्थाले महिलाका समस्याको समाधान गर्न नसकेको पनि बताउनुभयो ।
देशको समसामयिक अवस्थाबारे धारणा राख्दै उहाँले अहिले राष्ट्र गम्भीर सङ्कटबाट गुज्रिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘राष्ट्रियता र गणतन्त्रको रक्षा तथा सङ्घीयताको खारेजीका लागि काँधमा काँध मिलाएर सम्पूर्ण महिलाहरु चुलोचौकोबाट उठ्न आवश्यक छ ।’

भेलालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपाली, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासे, नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षत्री, सङ्घीयता विरोधी मोर्चा कपिलवस्तुका संयोजक पिताम्बर खनाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) कपिलवस्तुका अध्यक्ष सिद्धि आचार्य र अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष विक्रम केसीले शुभकामना दिनुभएको थियो ।
कमला पौडेलको अध्यक्षता तथा निर्मला सापकोटाको सञ्चालनमा अघि बढेको उक्त भेलामा सहभागीलाई रिता पाण्डेले स्वागत गर्नुभएको थियो ।

अध्यक्षमा खनाल
भेलाले शारदा खनाल अध्यक्ष रहनुभएको १५ सदस्यीय महिला सङ्घको जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा रिता पाण्डे, सहसचिवमा बिनिता अदै, कोषाध्यक्षमा ललिता कुँवर तथा सदस्यमा शोभा आचार्य, पवित्रा बेलबासे, विमला श्रेष्ठ र बेलौता विक रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यमा प्रेमकला खत्री र एक स्थान रिक्त तथा सल्लाहकारमा अम्बिका पौडेल शर्मा, कमला पौडेल, मेनका शर्मा र इन्द्रकला खनाल रहनुभएको छ ।
नवनिर्वाचित समितिलाई देवा आचार्य, राधा बेलबासे, टेकपति सापकोटाले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
