काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घको केन्द्रीय कार्यालयले आफ्नो अठारौँ स्थापना दिवस मनाइएको छ ।
नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८१ पुस २२ गते शनिबार बागबजारमा सो कार्यक्रम मनाइएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले समाजमा थोरै मान्छेले मात्र समाज परिवर्तनको सपना देख्ने गरेकोमा प्रगतिशील पत्रकार सङ्घ सोही पङ्क्तिभित्र पर्ने बताउनुभयो ।
‘समाजमा थोरै मान्छेले समाज परिवर्तनको सपना देख्छन्’ उहाँले भन्नुभयो– ‘तपाईंहरू तिनै थोरै मानिसमध्ये एक हुनुहुन्छ ।’
उहाँले प्रगतिशील सङ्घको इतिहासमा प्रगतिका साथै पतन पनि भएको स्पष्ट पार्नुभयो ।
‘तपाईंहरूले यहाँ वाचन गर्नुभएको इतिहाससम्बन्धी नोटबाट प्रष्ट हुन्छ’ उहाँले भन्नुभयो– ‘यस सङ्गठनमा प्रगतिका साथै कतिपयको पतन पनि हुनु गरेको छ । फेरि पनि तपाईंहरू निरन्तर अगाडि बढिरहनुभएको छ ।’
प्रवक्ता पुरीले राष्ट्र र सर्वहारा वर्गको पक्षमा समर्पित भावनाका साथ पत्रकारिता कर्ममा अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।
सङ्गठनको इतिहाससम्बन्धी नोट उद्घोषकद्वारा वाचन गरिएपछि कार्यक्रममा सङ्गठन स्थापनापूर्वको पृष्ठभूमिबारे चर्चा गर्दै अधिवक्तासमेत रहनुभएका लक्ष्मणदेव पाण्डेले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी र पत्रकार धनबहादुर मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जातीय समता समाजका महासचिव भक्त विक, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्की, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार डम्मर कार्की, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य रोशन दानी र अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागमती प्रदेश समितिका सदस्य बेगमबहादुर खड्काको आतिथ्य रहेको थियो ।
प्रगतिशीलका महासचिव प्रकाश थापामगरको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको उद्घोषण केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले गर्नुभएको थियो ।
उपस्थित सहभागीलाई प्रगतिशीलका केन्द्रीय सल्लाहकार तथा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य वैरागी जेठाले स्वागत गर्नुभएको थियो ।


