शङ्करप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सङ्घीयताअन्तर्गतको प्रदेश खारेजी नेपाली जनताको माग पहिलो हुन पुगेको बताउनुभएको छ ।
आफ्नो पार्टी राजमोले चैत २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन घोषणा गरेको सन्दर्भलाई पुष्टि गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
२०८१ पुस २० गते राजमो रुपन्देहीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै सो दाबी गर्नुभएको थियो ।
प्रशिक्षणको क्रममा केसीले सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न सम्पूर्ण देशभक्त, प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउदै सङ्घीयता खारेज नगरे सङ्घीयताले नेपाल देश नै खारेज गर्ने तर्क गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले अहिलेको बहालवाला सरकारले जनहितमा काम गर्न नसकेको बताउँदै जनताको निरन्तर खबरदारी आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहकार सुरेश थापा, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सरिता जिसी, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतम, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल सिक्षक सङ्घका सल्लाहकार कमला बन्जाडे, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य हरि राहाडीृ जातीय समता समाजका सल्लाहकार दिलप्रसाद नेपालीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष केसी, राजमो नेता थापा र बुद्धिजीवी सङ्घका खरेलले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा दुईमहिने आन्दोलनका कार्यक्रमको घोषणा कम्युनिस्ट सङ्ग्रहालयका आचार्यले गर्नुभएको थियो । यस अवधिमा जिल्लाभरि मोटरसाइकल र्याली, पत्रकार सम्मेलन, कोणसभा, अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिने बताइएको छ ।

कार्यक्रमको अध्यक्षता राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले, सञ्चालन सचिव कृष्णप्रसाद पोख्रेलले र स्वागत राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवालीले गर्नुभएको थियो ।
