काठमाडौँ । नेकपा (मसाल) कले भीम रावलको नेकपा (एमाले) बाट ‘साहसपूर्ण’ ‘विद्रोह’ लाई स्वागत गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ पुस १९ गते शुक्रबार जारी गरिएको प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।
वक्तव्यमा एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको विरुद्ध रावलको कदमलाई ‘विद्रोह’ को सङ्ज्ञा दिइएको छ ।
राष्ट्रियताको सन्दर्भमा रावलको दृष्टिकोण सही र देशभक्तिपूर्ण बताउँदै पार्टीले वक्तव्यमार्फत् प्रतिगमन र साम्राज्यवादको नेपाली राष्ट्रियतामाथिको खतराको सन्दर्भमा पनि उनले सही दृष्टिकोण अपनाउने अपेक्षा गरेको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“एमालेबाट कामरेड भीम रावललाई निष्काशन गरिएको छ र उनले आफ्नो बेग्लै पार्टी बनाउन पहलकदमी सुरु गरेका छन् । उनले आफ्नो पार्टीको दशौँ महाधिवेशनदेखि नै त्यो पार्टीको नेतृत्वको विरोध गर्दै आएका थिए र पछिल्ला दिनमा पनि उनले आफ्नो पार्टीका नीतिको चर्को विरोध गर्दै आएका थिए । त्यस प्रकारको पृष्ठभूमिमा उनीमाथि त्यस प्रकारको कारबाही अप्रत्यासित थिएन । उनले उक्त दशौँ महाधिवेशनदेखि चर्को रूपले उठाउँदै आएको विरोधको स्वरमाथि विचार गर्दा उनीमाथिको कारवाहीलाई निष्काशन भन्नुभन्दा उनको विद्रोह भन्नु नै उपयुक्त हुने छ ।
कामरेड भीम रावलमाथिको त्यो कारबाही वा विद्रोह जे भए पनि त्यो एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको परिणाम हो । उनको त्यही प्रकारको कार्यशैलीको कारणले नै पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपाको विघटन भएको थियो र माधव नेपाल समूहले एमालेबाट विद्रोह गर्नुपरेको थियो । त्यही प्रकारको स्थितिमा जुनसुकै रूपमा भए पनि भीम रावल पनि एमालेबाट अलग भएका छन् । उनको त्यो साहसपूर्ण कदमलाई हामीले स्वागत गर्दछौँ । त्यसपछि उनी कुन रूपमा अगाडि बढ्ने छन् ? त्यसको आधारमा हामीले उनको मूल्याङ्कन गर्दै जाने छौँ ।
यो आम रूपमा थाहा भएको कुरा हो कि देशको राजनीति, खास गरेर राष्ट्रियताको प्रश्नमा भीम रावलको दृष्टिकोण पहिलेदेखि नै सही र देशभक्तिपूर्ण रहँदै आएको छ । त्यसका साथै आज देशमा प्रतिगमन र साम्राज्यवादीको राष्ट्रियतामाथिको खतरा पनि धेरै बढेर गएको छ । त्यो अवस्थामा उक्त दुबै विषयमा उनले सही दृष्टिकोण अपनाउने छन् भन्ने हामीले आशा र कामना पनि गर्दछौँ । त्यो दिशामा उनले उठाउने सकारात्मक कदमलाई हामीले समर्थन गर्दै जाने छौँ ।”