काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार वृत्तमा कार्यरत सई र जवानमा संक्रमण देखिएको हो ।
कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ ।
अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।
संक्रमित दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल बल्बुमा उपचारका लागि भर्ना गरिएको छ । संक्रमितहरुबाट चार दिन अघि स्वाब लिइएको थियो ।
चिकित्सकलाई पनि संक्रमण पुष्टि
काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ती डाक्टर ललितपुरको पाटनमा बस्दै आएका स्रोतले जनाएको छ । उनी आफैँ कोरोना रेस्पोन्स टिममा संलग्न थिए । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उनी कन्ट्याक्ट ट्रेसिङको क्रममा कपिलवस्तु गएका स्रोतले जनाएको छ। कपिलवस्तुमा जाँदा संक्रमण भएको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो ।