काठमाडौँ । मङ्किपक्स पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई युवामध्ये एक जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अकाको अवस्था सुधार भइरहेको छ ।
अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार पहिलोपटक सङ्क्रमण देखिएर भर्ना भएका ३६ वर्षीय पुरुष मङ्गलबार डिस्चार्ज भएका हुन् । दोस्रो बिरामी भने उपचारकै क्रममा छन् ।
‘पहिलो बिरामी सन्चो भएर डिस्चार्ज भइसकेको अवस्था छ भने दोस्रो बिरामीको अवस्था पनि सामान्य नै रहेको छ । उनलाई पनि केही दिनपछि डिस्चार्ज गर्ने छौँ’ डा बसौलाले भने।
मङ्किपक्सका कारण आँखा, दिमाग तथा शरीरका अन्य अङ्गमा जोखिमको खतरा नभएको उनले जानकारी दिए ।
गत पुस ५ गते साउदीबाट नेपाल आएका ३६ वर्षीय नेपाली पुरुषलाई पहिलोपटक मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो । गत असार १ गते एक जना विदेशी महिलालाई मङ्किपक्स पुष्टि भए पनि नेपालीमा भएको यो पहिलोपटक हो । ग्रान्डी अस्पतालमा उपचारका लागि पुगेका उनलाई टेकु अस्पताल रेफर गरिएको थियो ।
अस्पतालले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । त्यहाँबाट आएको रिपोर्टमा ती युवकमा मङ्किपक्स सङ्क्रमण भएको पुष्टि भएको थियो ।
दोस्रो सङ्क्रमण देखिएका पुरुष पनि साउदीबाट नै आएका थिए । शुक्रराजमा उपचाररत ४४ वर्षीय ती पुरुषको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले बताएको छ ।