खलङ्गा । राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका वडा नम्बर ४ का वडासदस्य तथा साविक ढाकाबाङ गाविस वडा नं. ३ अर्घाखाँचीका पूर्व जनप्रतिनिधि धर्मराज खनालको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
२०८१ पुस १७ गते बुधबार मृत्यु भएको नवौँ दिन प्युठानमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो प्युठान नगर समितिका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा स्मृतिशेष खनालका भाइ मनिराम खनालले उहाँको सङ्क्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।

राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, राजमो प्युठानका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेलगायतले शोकमन्तव्य राख्दै स्मृतिशेष खनालले समाज परिवर्तनको लागि निभाउनुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार वासुदेव पोखरेल, राजमो दाङ जिल्ला सदस्य मेघराज भट्टराई, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसी, महिला सङ्घ प्युठानकी अध्यक्ष पद्मा पण्डितलगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

स्मृतिशेष खनालको फोटोमा माल्यार्पण तथा उहाँको सम्झनामा एक मिनेट मौनधारणसहित अघि बढेको सो कार्यक्रमको सहजीकरण राजमो प्युठान नगर समितिका सचिव कृष्ण गिरीले गर्नुभएको थियो ।
स्मृतिशेष खनालका एक श्रीमतीसहित दुई छोरा एक छोरी हुनुहुन्छ ।
