काठमाडौँ । मेरिटोक्रेसी विपरीत नियुक्ति गरिएको भन्दै पाँच विद्यार्थी सङ्गठनले त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा अनिश्चितकालीन अनसन सुरु गरेका छन् ।
२०८१ पुस १७ गते साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरू अनसनमा बसेका हुन् ।
अखिल (छैठौं) का त्रिवि केन्द्रीय क्याम्पसका इन्चार्ज विवेक जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष दिनेश ऐर, अनेरास्ववियूका अध्यक्ष समीर गौतम, अखिल (समाजवादी) का इन्चार्ज सतल सी र नेपाल समाजवादी विद्यार्थी युनियनका इन्चार्ज रामनरेश यादवको हस्ताक्षरमा सो विज्ञप्ति जारी गरिएको हो ।
विज्ञप्तिमा मेरिटोक्रेसीको आधारमा क्याम्पस र विभागीय नियुक्ति हुनुपर्ने, डा. पुष्कर रैखोला नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, अध्ययन विदामा विदेश गएका र स्वदेश नफर्कने प्राध्यापक तथा कर्मचारीको सेवासुविधा र तलब फिर्ता गर्नुपर्ने र त्रिताल आयोगको प्रतिवेदनअनुसार त्रिविका जग्गा फिर्ता गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, विज्ञप्तिमा आंशिक करार सेवाका शिक्षक र कर्मचारीलाई स्थायी गरिनुपर्ने, त्रिवि केन्द्रीय क्याम्पसमा बिहानी र सन्ध्याकालीन कक्षा सुरु गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयबटा उत्तरपुस्तिका हराउनेलगायतका समस्याको सम्बन्धमा डा. चन्द्रमणि पौडेलको सिफारिस लागु गर्नुपर्ने, पढ्दै कमाउँदै कार्यक्रम लागु गर्नुपर्ने, त्रिविका रिक्त उपप्राध्यापक तथा कर्मचारीको खुल्ला प्रतिष्पर्धाद्वारा नियुक्त गर्न विज्ञापन गर्नुपर्ने र केन्द्रीय विद्यालयका अध्ययनरत विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था हुनुपर्ने माग उल्लेख छ ।
अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका जिसीका अनुसार यो अनसन अनिश्चतकालसम्म चल्ने छ ।
उहाँले भन्नुभयो– ‘यो अनसन हाम्रो माग पूरा नहुँदासम्म चल्ने छ ।’
जिसीका अनुसार अनसनमा अहिले त्रिवि केन्द्रीय क्याम्पसका पाँच विद्यार्थी सङ्गठनका अध्यक्ष तथा इन्चार्जको सहभागिता रहेको छ ।

CamScanner 12-31-2024 20.53(1)(1)