काठमाडौँ । अखिल नेपाल युवक सङ्घको राष्ट्रिय प्रशिक्षणात्मक भेला अध्यक्षमा गणेश अधिकारीलाई अध्यक्षमा तथा विष्णु पुनलाई महासचिवमा चयन गर्दै सम्पन्न भएको छ ।
२०८१ पुस १३ र १४ गते रुपन्देहीको बुटवलमा सो भेला सम्पन्न भएको हो ।
सङ्घका नवनिर्वाचित अध्यक्ष अधिकारीको हस्ताक्षरमा पुस १४ गते नै जारी गरिएको प्रेसविज्ञप्तिमा सम्मेलनको बारेमा विस्तृतमा जानकारी दिइएको छ ।
प्रेसवक्तव्यमा कार्यक्रमको विस्तृत विवरण र नवनिर्वाचित केन्द्रीय समितिका साथै भेलाद्वारा पारित समसामयिक प्रस्ताव र आगामी कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“अखिल नेपाल युवक सङ्घको राष्ट्रिय प्रशिक्षणात्मक भेला २०८१ पुस १३ र १४ गते रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।
भेलाको अध्यक्षता अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षता र प्रमुख अतिथि मोहनविक्रम सिंह, विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, वामपन्थी नेता आनन्द शर्मा, राजनमो महासचिव मनोज भट्ट, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेलले सफलताको शुभकामना दिनुभएको थियो ।
उद्घाटन सत्रको सञ्चालन महासचिव भीमसेन वन, स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण पुनले गर्नुभएको थियो ।
उक्त उद्घाटनपछि तीन सदस्यीय अध्यक्षमण्डलले बन्दसत्र सुरु गरेको थियो । बन्दसत्रमा निवर्तमान अध्यक्ष कृष्णराज पाण्डेले साङ्गठनिक प्रतिवेदन, महासचिव भीमसेन वनले आगामी कार्यक्रम पेस गर्नुभएको थियो । दुवै प्रस्ताव हलले व्यापक छलफलपछि पारित गरेको थियो । त्यसपछि प्यानलको सङ्ख्या र नामावली प्रस्तुत भएको थियो । उक्त प्यानल र सङ्ख्यालाई हलले अनुमोदन गरिसकेपछि निर्वाचित केन्द्रीय समितिको घोषणा गरिएको थियो ।
समितिमा अध्यक्ष गणेश अधिकारी (कास्की), उपाध्यक्ष कुलराज खनाल (अर्घाखाँची), उपाध्यक्ष चोपबहादुर विक (प्युठान), महासचिव विष्णु पुन (काठमाडौँ), सचिव वीरेन्द्र थापा (बागलुङ), सचिव ठाकुर पन्थी (अर्घाखाँची), कोषाध्यक्ष कमल पौडेल (प्युठान), सदस्य मेस्मा पुन (काठमाडौँ), अनिल गिरी (बागलुङ), मेर्जन शाही (कैलाली), लेखत कुँवर ( काठमाडौँ), दुर्गा थापा (बागलुङ), सीता पुन (प्युठान), पृथ्वी रोका (काठमाडौँ), फटिक पौडेल (चितवन), चौहान मिदुनमगर (सुर्खेत), मिलन पोख्रेल (रुपन्देही), पूर्णबहादुर आले (पाल्पा), बसन्त केसी (प्युठान), उषा तारामी (गुल्मी), चन्द्रप्रकाश आचार्य (दाङ), धनबहादुर सुर्पालमगर (नवलपुर), सीता कार्की (पाँचथर), सगर सुवेदी (नवलपरासी), भीमबहादुर थापा (गुल्मी), वैकल्पिक सदस्य भीष्म छन्त्याल (बागलुङ), रेशम विक (अर्घाखाँची), प्रकाश पुन (रोल्पा), दीपक विक (डोटी), फूल मोहमद (रौतहट), विक्रम केसी (कपिलवस्तु), सल्लाहकार कृष्णराज पाण्डे (बाँके), भीमसेन वन (बागलुङ), चित्र एमसी (दाङ), डम्बर कार्की (काठमाडौँ), गोविन्द अम्गाई (नवलपुर) निर्वाचित हुनुभएको छ ।
नेपालको हरेक राजनीतिक परिवर्तनपछि नागरिकताको विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गरेर भारतले नागरिकतामा नै घुसपेठ गरी जनसाङ्ख्यिक रूपमा नेपाललाई कब्जा गर्ने रणनीति लिएको छ । अर्कोतिर, अहिले अमेरिकी साम्राज्यवादले एमसिसीको माध्यमद्वारा नेपाललाई चीनविरोधी मोर्चामा सामेल गर्ने र नेपाललाई अमेरिकी सैन्य क्याम्प (इन्डोप्यासिफिक रणनीतिअनुसारअन्तर्गत) लैजान लगातार र योजनाबद्ध प्रयत्न गरिरहेको छ । एमसिसी नेपालको संविधानभन्दा माथि हुने छ । एमसिए–नेपालको कानुनसँग बाझिएमा नेपालको कानुन र संविधान निष्क्रय हुने प्रावधानले नेपालको संविधानमाथि नै खतरा पैदा हुने स्थिति देखिएको छ । यो अवस्थामा एकातिर, नेपालको असंलग्न परराष्ट्रनीति समाप्त हुने छ भने अर्कोतिर, हाम्रो देश अमेरिकी सैन्य अखडा र शक्तिराष्ट्रको युद्धमैदानमा बदलिने खतरा हुने छ । त्यसैले अखिल नेपाल युवक सङ्घ नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई रक्षाका लागि एमसिसी खारेजीको माग गर्दछ ।
सङ्घीयताको आवरणमा देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कमजोर भएको छ । यसलाई खारेजी गर्ने गरी आन्दोलनलाई अगाडि बढाउने दायित्व हामीमाथि थपिएको छ । यस्तो अवस्थामा राष्ट्रियता, सार्वभौमिकता र भौगालिक अखण्डाताको संरक्षण गर्नु अहिलेको तात्कालिक आवश्यकता हो ।
मुलुकमा गणतन्त्र आए पनि जनताले यसको अनुभुति गर्न पाएका छैनन् बरु देशमा प्रतिगामी खतरा दिनप्रतिदिन बढिरहेको छ । २०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि निरन्तर आक्रमण भएको छ । त्यसको रक्षा गर्ने दायित्व पनि हामीमाथि थपिएको छ ।
अहिले पनि देशमा भ्रष्टाचार संस्थागत संरचनागत ढङ्गले राज्य आफै लागेको देखिन्छ । सार्वजनिक ओहदामा रहेका व्यक्तिको उत्तरदायित्व र जवाफदेहिता अभावका कारण भ्रष्टाचार देश विकासको लागि बाधक भएकाले यसका विरुद्ध जनतालाई सचेत बनाउनुपर्दछ ।
जनताले आफ्नो दैनिकीबाट जम्मा गरेका सहकारीको बचत राज्यशत्ताको आडमा सहकारी माफियाले ब्रह्मलुट गरेर जनतालाई बिचल्ली बनाएका छन । त्यसका विरुद्ध सङ्घर्षलाई तेज बनाउने दायित्व पनि थपिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका साथै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ । मूल्यवृद्धिले जनताको ढाड सेकिरहेको छ । यसका विरुद्ध जनतालाई जागरुक गरी आन्दोलनको उठान आवश्यकता छ ।
हाम्रो राष्ट्रियतामाथि झन बढी खतरा पैदा भइरहेको छ । विदेशी साम्राज्यवादी खासगरी भारतले नेपालमाथि विभिन्न समय र सन्दर्भमा हस्तक्षेपकारी नीति लिएको छ भने नेपालका शासकको भारतप्रति दब्बु प्रकारको प्रवृत्तिले उनीहरूलाई हस्तक्षेप गर्न सजिलो बनाएको छ ।
प्रतिनिधिसभाको ध्वनिमतद्वारा एमसिसीलाई अनुमोदन गरेका कारणले नेपालको राष्ट्रियता चरम सङ्कटमा फस्ने निश्चित छ । ठुला राजनीतिक दलको अमेरिकी साम्राज्यवाद अगाडि दलाली र चाकरीको होडबाजीले गैरसंवैधानिक ढङ्गले एमसिसी संसद्बाट अनुमोदन भएको छ । जनताको व्यापक विरोधको बाबजुद पनि पास हुनु ठुला राजनीतिक दलले अमेरिकी साम्राज्यवादको दलालीको पराकाष्ठाबाहेक अरू केही होइन । हामीले यसका विरुद्धको आन्दोलनले केन्द्रित गरेर एमसिसीलाई जनताको आन्दोलनले खारेज गर्नका लागि आन्दोलनलाई अगाडि बढाउन आवश्यक छ ।
नेपालमा सङ्घीयता लागु गर्नु, जनसङ्ख्याको आधारले निर्वाचन क्षेत्र निर्धारण गर्नु, खुकुलो नागरिकता नीति अपनाई लाखौँ भारतीयलाई नेपाली नागरिकता दिनु, अनधिकृत नागरिकतालाई खारेज नगर्नु, विदेशी दलाल कम्पनीलाई खुल्ला प्रवेश दिनु, एनजिओ/आइएनजिओको आवरणमा विदेशी शक्तिकेन्द्रले चलखेल गर्नु, साम्राज्यवादी तथा पुँजीवादी मुलुकको इसारामा चल्ने वित्तीय कम्पनीको ऋण तथा अनुदानलाई उनीहरूकै सर्तसहित स्वीकार गर्नु आदि दृष्टान्तले विदेशी हस्तक्षेप चुलिदै गएको अनुभूति हुन्छ । यसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डतालाई कमजोर बनाइरहेको छ । अर्कोतिर, भारतले नेपालको सीमा अतिक्रमण गरिरहेको छ । समय समयमा नाकाबन्दी लागाउने, सीमाक्षेत्रका नेपालीलाई दुःख दिने, यातना दिने, नेपाली भूमि जोडिएको स्थानमा ठुला ठुला बाँध र बाटो निर्माण गरी नेपाली बस्ती डुबानमा पार्ने कार्य गरिरहेको छ । पछिल्लो दिनमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागलाई आफ्नो नक्सामा राखी प्रकाशन गर्नुले साम्राज्यवादी चरित्र उदाङ्गो पारेको छ । लामो समयदेखि नेपाली भूमि कब्जा गरेर बसेको भारतले यस्तो हर्कत गर्नु गम्भीर विषय हो । त्यसको भर्त्सना गर्दै नेपालको अतिक्रमित भूमि फिर्ता गर्न आवाज उठाउनुपर्दछ ।
देशभित्र रोजगारीको अभावले लाखौँ युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । वैदेशिक रोजगारीको नाममा नेपाली युवालाई दास जस्तै वेचविखन गर्ने र अलपत्र पार्ने म्यानपावर कम्पनी कारबाहीको दायरामा आउन सकिरहेका छैनन् बरु तिनै म्यानपावरका मालिकको सल्लाहबमोजिम रोजगार नीति प्रभावित भइरहेको छ । विदेशमा भएका युवाको जीवनको सुरक्षा गर्ने र देशभित्र बस्न युवालाई प्रोत्साहन गर्ने कार्यक्रम तत्काल ल्याउन दबाब दिनुपर्दछ ।
देशको आधारभूत विकास सडक सुविधा, शिक्षा र स्वास्थ्यको सुविधासँग जोडिएको हुन्छ तर सडक निर्माणको जिम्मा पाएका कम्पनीको भ्रष्ट चरित्रका कारण, राज्यका निकायसँगको मिलेमतोमा कम गुणस्तरको सडक बनाउँदा कैयौँ दुर्घटनाहरू बढिरहेका छन् । एक त काम समयमै पूरा नगर्नु र गरेको काम पनि गुणस्तरीय नहुनुले सडक सुरक्षामा ठुलो प्रश्न खडा गरेको छ ।
सेवामूलक अङ्ग स्वास्थ्य र शिक्षा मौलिक हकभित्र संविधानमा उल्लेख गरे पनि सबैभन्दा बढी स्वास्थ्य र शिक्षाबाट माफियाले लुट मच्चाइरहेका छन् र महँगो बनाएका छन् । स्वास्थ्य र शिक्षा निःशुल्क गरी राज्यले जनताप्रतिको दायित्व निर्वाह गर्नुपर्दछ ।
अन्तर्राष्ट्रिय परिदृश्यमा रुस र युक्रेनका बिचमा युद्ध चलिरहेको छ । वास्तवमा रुस र युक्रेन बिचमा युद्ध होइन रुस र अमेरिकाबिचमा युद्ध नै हो । रुस र अमेरिकी दुवै देशको साम्राज्यवादी चरित्रले नै काम गरिरहेको छ । अमेरिकाले युक्रेनलाई नाटो, सैन्य सङ्गठनअर्न्तगत ल्याउन चाहन्छ भने रुस युक्रेनका विभिन्न भूभागमा प्रभुत्व कायम गर्न चाहन्छ । यी दुवै सोचाइको हामी विरोध गर्दछौं । यसरी हेर्दा अमेरिका र रुसका उद्देश्य साम्राज्यवादी स्वार्थबाट प्रेरित भएको कुरा प्रष्ट छ । हामी युक्रेनका बारेमा दुवै साम्राज्यवादी देशले अपनाएको नीतिको विरोध गर्दछौं । युक्रेनमाथि रुसी हमला रोक्न र शान्ति कायम गर्दै युक्रेन जनता बाच्न पाउने अधिकारको पक्षमा जोड दिन्छौँ ।
इजराइल र प्यालेस्टाइनबिच युद्ध चलिरहेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । धार्मिक कठोरताका नाममा हुने आतङ्ककारी गतिविधिको विरोध गर्दै प्यालेस्टाइन जनताको बाँच्न पाउने अधिकारको पक्षमा जोड दिन चाहन्छौँ र प्यालेस्टाइनी जनताको जीवनरक्षाको निम्ति अपिल गर्न चाहन्छौँ ।
भूमण्डलीकरण, खुलापन र उदारीकरणको नाममा साम्राज्यवादी र उपनिवेशवादीको आर्थिक विश्व बैङ्क, आइएमएफ, डब्लुटिओ, एडिबी र अन्य बहुराष्ट्रिय कम्पनीले कमजोर मुलुकमाथि आक्रमण, हस्तक्षेप र प्रभुत्व जमाउँदै छन् । अफगानिस्तान, इराक, लिबिया, सिरिया, इरान, पाकिस्तान र युक्रेन यसका उदाहरण हुन् । उत्तर कोरिया र क्युबामाथि ५० वर्षदेखि आर्थिक नाकाबन्दी गरिरहेका छन् । हाइटी, भेनेजुयला र अन्य ल्याटिन अमेरिकी देश र अफ्रिकी मुलुकमा हस्तक्षेप बढाइरहेका छन् । अहिले पनि अमेरिका, युरोप, भारतले नेपाललाई आफ्नो सुरक्षित बजार बनाउने र सैनिक गठबन्धनमा सामेल भएको छ । भारतीय साम्राज्यवादले सार्कभित्र पर्यवेक्षकको रूपमा चीन छ र पाकिस्तान पनि संलग्न भएकोले भारतले सार्कबाट पछि हट्ने र बिमस्टेक आन्दोलनलाई अगाडि बढाई सैनिक गठबन्धनसम्म बनाउने योजना बनाएको छ । यसैले विश्वका साम्राज्यवादी तथा प्रभुत्ववादी शक्तिको विरुद्धमा युवालाई सचेत बनाउँदै विदेशी हस्तक्षेपको विरोध गर्नु अहिलेको आवश्यकता हो ।
आगामी कार्यक्रम
अखिल नेपाल युवक सङ्घका प्रदेश, जिल्ला, नगर, गाउँपालिका, वडासम्म भेला, बैठक, प्रशिक्षण तथा सदस्यता अभियान सञ्चालन गर्ने साथै २०८१ चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनलाई सफलतापूर्व सम्पन्न गर्न आजैदेखि सङ्गठनका सबै गतिविधिलाई केन्द्रित गर्नु हाम्रो प्रमुख जिम्मेवारी हुने छ । अर्कोतिर एमसिसी विरुद्धको आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलन हाम्रो तात्कालिक कार्ययोजनाका रूपमा रहेका छन् । यो भेलाबाट ठोस योजना बनाई काठमाडौँकेन्द्रित आन्दोलनलाई अगाडि बढाउन सङ्गठनलाई गतिशील, चुस्त र मिलिटेन्ट बनाई जनवादी आन्दोलनको पक्षमा हाम्रो सङ्घर्ष कोशेढुङ्गा सावित हुने छ ।
हामीले विगतमा निर्धारण गर्ने गरेका सङ्गठनात्मक कार्य, वैचारिक कार्य, सङ्घर्षसम्बन्धी कार्य, आर्थिक, राजनीतिक तथा रचनात्मक कार्यलाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता छ । समाजको एउटा सम्भावनायुक्त शक्तिको रूपमा रहेका युवालाई सचेत र सङ्गठित गर्ने हो भने मात्र समाजले काँचुली फेर्न सक्छ । आज पनि युवालाई विभिन्न रूपमा पथभ्रष्ट बनाएर, आफ्ना निश्चित स्वार्थमा मात्र केन्द्रित गर्ने साथै राजनीतिक व्यापारको साधन बनाउने खेल भइरहेको छ । यसले गर्दा युवाहरू वर्गसङ्घर्षमा होमिन सकेका छैनन् । क्रान्तिकारी विचार, वर्गसङ्घर्ष र मार्क्सवाद, लेनिनवाद, माओ विचारधाराकै विरुद्धमा संशोधनवादी र यथास्थितिवादी साथै प्रतिक्रियावादीको अघोषित मोर्चाबन्दी भइरहेको छ । यस्तो अवस्थामा युवाहरूलाई जुझारु बनाउँदै मुलुकको आमूल परिवर्तनको लक्ष्यमा समर्पित गर्न हामीले पहल केन्द्रित गर्नुपर्दछ ।”