सिमकोट । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ ।
शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।
हुम्लामा तेस्रोपटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।
त्यस्तै, सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ ।
यता, अन्तरजिल्ला जोड्ने एक मात्रै हवाईसेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो । (रासस)