चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा पारेर राष्ट्रिय खाना महोत्सव आजदेखि मेघौलीमा सुरू भएको छ। महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे।
रैथाने खानाको महत्त्व बुझाउन यस्ता महोत्सव प्रभावकारी हुने मुख्यमन्त्री लामाले बताए।
उनले भने, ‘रैथाने चिजको संरक्षण गर्नुपर्छ। रैथाने खानाको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउनेछन्।’ उनले भने, ‘रैथाने खानाको महसुस हुने गरी काम गर्न आवश्यक छ।’ यसले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उनले बताए।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आएको बताइन्। भ्रमण वर्षको अवसरमा बाह्य दुई लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका उनले बताइन्।
भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्विमा महत्वपूर्ण भूमिका पुगेको उनले बताइन्।