काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद लामिछानेले पाएका छन् । सभापति रवि लामिचानेविरुद्ध सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनले डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।
सोमबार दिउँसो बसेको रास्वापा पार्टी सचिवालयको आकस्मिक बैठकले डीपीलाई कावा सभापति बनाउने निर्णय अनुमोदन गरेको छ ।
बैठकमा सभापति लामिछानेद्वारा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकिएको व्यहोरा पार्टी सचिवालयलाई जानकारी गराइएको थियो। यस सम्बन्धमा सम्बन्धित सबैमा जानकारी गराउने निर्णय गरिएको कार्यवाहका प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनका अनुसार, पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा बैठकमा संक्षिप्त ब्रिफिङ गरिएको थियो। त्यसपछि अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय रास्वपाले गरेको छ। साथै, न्यालयबाट न्याय पाउनेमा पार्टीले विश्वास राखेको उनले जानकारी दिए।
बैठकपछि झाले सार्वजनिक गरेको तीन बुँदे वक्तव्यमा लेखिएको छ, ‘पार्टी विधान, २०७९ ९संशोधन २०८१० को धारा २५ (४) (क) (९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत केन्द्रीय समितिलाई जानकारी गराइएको छ। उक्त पत्रमा पार्टी सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुने अपेक्षासहित शुभकामना समेत व्यक्त गर्नुभएको छ।’
पार्टीको आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय गरियो पनि झाले जानकारी दिएका छन्।