काठमाडौं । आइतबार प्रदेश १ मा थप तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा १ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिनुभएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो। प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निको भएका छन्।
योसँगै देशभर संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । यीमध्ये ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।


