दाङ । अखिल (छैंठौ) दाङको प्रशिक्षण आज दोस्रो दिन पनि जारी छ ।
मङ्सिर ३० गतेसम्म चल्ने सो कार्यक्रम मङ्सिर २८ गते शुक्रबारदेखि सुरु भएको हो ।
कार्यक्रममा प्रशिक्षण दिँदै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले शैक्षिक प्रक्रियाअन्तर्गत साविकको पठनपाठनको ढाँचा वा तरिका बदल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘अहिले शिक्षक बोल्न मात्र खोज्छ, विद्यार्थी गर्न खोज्छ । त्यसैले अब बन्ने नयाँ सिकाइको प्रक्रियामा शिक्षकलाई गर्न लगाउने र त्यो गरेको विद्यार्थीलाई सिकाउन सक्ने गरी बदल्नुपर्छ’ उहाँले भन्नुभयो ।
त्यसैगरी, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले समाज परिवर्तन र राजनीतिक इतिहासको बारेमा प्रशिक्षण दिँदै राणाशासन, निरङ्कुश पञ्चायतकालको अन्त तथा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता विद्यार्थी आन्दोलनका कारण सम्भव भएको दाबी गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय प्रतिनिधि विप्लव अधिकारीले निजी र सार्वजनिक शिक्षाबारे प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको दोश्रो दिनमा सहभागी प्रशिक्षार्थीले प्रशिक्षकले जस्तै प्रयोगात्मक तरिकाले पहिले आफूले सिक्ने, त्यसपछि प्रशिक्षण दिने गरिएको थियो ।
अखिल (छैंठौ) दाङ जिल्ला अध्यक्ष सेवक भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन जिल्ला सचिव दिनेश रैदासले गर्नुभएको थियो ।