काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको आज सम्पन्न निर्वाचनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ मङ्सिर २८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले धन्यवाद ज्ञापन गरेको हो ।
यसपटकको निर्वाचनलाई सङ्घर्षकै रूपमा अगाडि बढाएको उल्लेख गर्दै त्यो सङ्घर्ष यथावत् रहेको पनि प्रगतिशीलले स्पष्ट पारेको छ । मुख्यतः सदस्यतासित सम्बन्धित विषयमा प्रगतिशीलले सङ्घर्ष यथावत राख्ने सङ्केत गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेपाल पत्रकार महासङ्घको सत्ताइसौँ निर्वाचन आज (२०८१ मङ्सिर २८ गते) सम्पन्न भएको छ । सङ्घको तर्फबाट निर्वाचनमा उभिनुभएका उम्मेदवार, निर्वाचनमा खटिनुभएका सम्पूर्ण तहका सङ्गठन र सदस्य, आफ्नो अमूल्य मत प्रदान गर्ने सम्पूर्ण पत्रकार साथी र यस निर्वाचनलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुने सबैलाई हाम्रो सङ्गठन धन्यवाद ज्ञापन गर्दछ ।
महासङ्घको सदस्यता शुद्धीकरणको सन्दर्भमा हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकार साथीहरूप्रति भेदभाव गरिएपछि यसपटकको निर्वाचनलाई हामीले सङ्घर्षकै माझमा उपयोग गरेका थियौँ । त्यस क्रममा हामीले सङ्घर्षका आवश्यक सबै स्वरूपलाई उपयोग गरेका थियौँ । हाम्रो सङ्घर्ष अझै पनि समाप्त भएको छैन । कतिपय जिल्लामा अझै तालाबन्दी कायम छ । हाम्रा क्रियाशील पत्रकारको पत्रकार महासङ्घको सदस्यतासित विषय अझै समाधान भएका छैनन् । यी र अन्य विषयमा हाम्रो खबरदारी र सङ्घर्ष यथावत् रहने छ । त्यसका साथै नेपाल पत्रकार महासङ्घलाई सम्पूर्ण श्रमजीवी पत्रकारको छाता सङ्गठनको रूपमा अगाडि बढाउने हाम्रो प्रयत्न पनि जारी रहने छ ।”