काठमाडौँ । पत्रकार महासङ्घको निर्वाचनमा प्रगतिशील पत्रकार सङ्घले बागलुङबाट खाता खोलेको छ ।
प्रगतिशीलका केन्द्रीय सदस्य प्रकाश छन्त्यालले बागलुङ जिल्लाको अल्पसङ्ख्यक सदस्यबाट निर्विरोध निर्वाचित भएर खाता खोल्नुभएको हो ।
त्यस्तै, प्रगतिशील पत्रकार सङ्घले देशैभरि उम्मेदवार उठाएको छ ।
केन्द्र र प्रदेशमा वामपन्थी, लोकतान्त्रिक र स्वतन्त्र प्यानलको पक्षमा तथा जिल्लामा स्थानीय सहमतिअनुसार प्रगतिशीलले उम्मेदवार उठाएको हो ।
केन्द्रीय समितिमा लुम्बिनी प्रदेश भौगोलिक केन्द्रीय सदस्यतर्फ सुमन अधिकारीले तथा लेखा समितिको महिला सदस्यमा लक्ष्मी चौधरीको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश उपाध्यक्षमा प्युठानका जुमानसिंह केसी, खुल्ला सदस्यमा अर्घाखाँचीका मेहरसिंह केसी र दलित सदस्यमा प्युठानका लोकेन्द्र सुनार उम्मदेवार परेको छ ।
गण्डकी प्रदेश समितिको सचिवमा बागलुङका ताराप्रसाद शर्मा र प्रदेश सदस्यमा बागलुङकै शेखर थापाले उम्मेदवारी दिनुभएको छ ।
काठमाडौँ उपत्यका प्रदेशमा घनश्याम अधिकारी (वैरागी जेठा) ले खुल्ला सदस्यमा तथा कर्णाली प्रदेश समितिको सदस्यमा जीवन शाहीले पनि खुल्ला सदस्यमा उम्मेदवारी दिनुभएको छ ।
उहाँहरू सबैले मङ्सिर २५ गते सम्बन्धित प्रदेशबाट उम्मेदवारी दिनुभएको हो ।
जिल्ला समितिको हकमा प्रगतिशीलले स्थानीय आवश्यकताअनुसार उम्मेदवारी दिएको छ ।
बागलुङमा प्रगतिशीलले प्रेस सेन्टरसँगको गठबन्धनमा खुल्ला उपाध्यक्षमा किरण आचार्य, महिला उपाध्यक्षमा पवित्रा बुढा, सचिवमा विजय राना, खुल्ला सदस्यमा दीपेन्द्र परियार, केशवराज क्षेत्री र जनजाति सदस्यमा छलिता बुढाले उम्मेदवारी दिनुभएको छ ।
बाँकेमा वरिष्ठ उपाध्यक्षमा तिलक गाउँलेले तथा केन्द्रीय पार्षदमा विनोद परियारले उम्मेदवारी दिनुभएको छ । यहाँ प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन र क्रान्तिकारी पत्रकार सङ्गठनसित तालमेल रहेको छ ।
प्युठानमा सचिव पदमा प्रज्ज्वल पहाडीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्यमा जुमानसिंह केसी र हरि विकले उम्मेदवारी दिनुभएको छ । यहाँ प्रगतिशीलले एक्लै उम्मेदवारी दिएको छ ।
अर्घाखाँचीमा खुल्ला उपाध्यक्षमा गोपाल भट्टराईको, कोषाध्यक्षमा जितेन्द्र खत्रीको र सदस्यमा राम खड्काको उम्मेदवारी परेको छ भने प्रदेश पार्षदमा कुलराज खनालले उम्मेदवारी दिनुभएको छ ।
कपिलवस्तुमा प्रगतिशीलको तर्फबाट मोहन बेलबासेले कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । त्यहाँ प्रगतिशीलले प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस सङ्गठनसित सहकार्य भएको छ ।
काठमाडौँमा खुल्ला सदस्यतर्फ गोविन्दकुमार शर्मा र चेतनारायण बेलबासेले उम्मेदवारी दिनुभएको छ । यहाँ वाम–लोकतान्त्रिक तथा स्वतन्त्र पत्रकारको गठबन्धन बनेको छ ।
रुपन्देहीमा सहसचिवमा टेकराज भुसालले र खुल्ला सदस्यमा शङ्कर पोखरेलले उम्मेदवारी दिनुभएको छ । यहाँ प्रगतिशीलले प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन र क्रान्तिकारी पत्रकार सङ्गठनसित तालमेल रहेको छ ।
जिल्ला समितिमा मङ्सिर २६ गते उम्मेदवारी परेको छ । महासङ्घको मतदान मङ्सिर २८ गते हुने छ ।