बर्दिबास । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसका जिल्लामा जाडो निकै बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ । अब उखु कटानको धमाधम पर्छ । हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन’ बर्दिबास–१३ का किसान ठकाइ महतो भन्नुहुन्छ– ॅपुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ ।’
चिसोले कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेसका जिल्लामा पूर्वपश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ किसान रहिमन मण्डल बताउनुहुन्छ ।
मधेस गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ । उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपराह्नसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन् । अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर–२ की शिला यादव बताउनुहुन्छ ।
मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुवस्तुको विजोग बन्दै छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भङ्गाहा–४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ । धेरै बढेको चिसोले पशुवस्तु जिङ्ग्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताउनुभयो ।
यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । अहिले मङ्सिर नसकिँदै चिसोले घरबाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ ।
खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउनुहुन्छ । यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन् । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् ।
यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जिल्लाका १५ ओटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गर्नुभएको छ । (रासस)