काठमाडौं । नेपाल भ्रमणमा आएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सँग भेटवार्ता गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष दाहालले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । साथै उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए ।

सो अवसरमा अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताएका थिए । उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुङ्गिन थालेकामा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए ।
यता, कांग्रेस सभापति देउवासँँग आफ्नै निवास बूढानीलकण्ठमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।