बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही सङ्घीयता खारेजीका लागि आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा जुटेको छ ।
राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १८ गते सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
पुस २० गते बिहीबार जारी प्रेसवक्तव्यमा मङ्सिर र पुस महिनामा स्थानीय स्थतरका बैठक तथा भेला सम्पन्न गर्ने तथा पुस २१ गतेदेखि फागुन १० गतेसम्म जिल्लाव्यापी सदस्यता अभियान चलाइने उल्लेख छ ।
त्यस्तै, पुस २० गते जिल्लास्तरीय प्रशिक्षण तथा माघ ५ गते “सङ्घीयता र लोकप्रियतावाद : यसका असरहरू” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
एवम् प्रकारले आन्दोलनको प्रचारका लागि पत्रकार सम्मेलन, पर्चा वितरण, भित्तेलेखन गरिने भएको छ ।
त्यसैगरी, भैरहवा, बुटवल, कञ्चन, सैनामैना, तिलोत्तमा, देवदह, शुद्दोदनलगायतका पालिकामा विरोधसभा गर्ने, बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्याली गर्ने, सो क्रममा व्यापारी, बुद्धिजीवीसँग भेटघाट, घरदैलो कार्यक्रम सम्पन्न गरिने पनि उल्लेख छ ।
प्रेसवक्तव्यमा आन्दोलनको तयारीको क्रममा आर्थिक सङ्कलन गर्ने पनि उल्लेख छ ।
