काठमाडौँ । मङ्सिर २८ गतेको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा छ पत्रकार सङ्गठनमाझ सहकार्य हुने भएको छ ।
२०८१ मङ्सिर १९ गते बुधबार प्रेस सेन्टरको कार्यालय बबरमहलमा भएको “संयुक्त आह्वान” जारी गर्दै उनीहरूले सो घोषणा गरेका छन् ।
“संयुक्त आह्वान” मा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, प्रेस सेन्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस सङ्गठनका अध्यक्ष नारायण सापकोटा, जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा र प्रेस मञ्चका महासचिव अवधेश झाको हस्ताक्षर रहेको छ ।
“संयुक्त आह्वान” को पूर्ण पाठ यस्तो छ :
“नेपाल पत्रकार महासङ्घले २०८१ मङ्सिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक गरेको निर्वाचन तालिकाले निर्वाचनको वातावरण निर्माण गरेको छ ।
यो निर्वाचनले नेपाल पत्रकार महासङ्घलाई सबै नेपाली पत्रकारको साझा महासङ्घ बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार हामीसामु उपस्थित भएको छ । यस सन्दर्भमा वाम प्रगतिशील खेमाका पाँच सङ्गठनबिच भएको छलफलपछि निम्न धारणा सार्वजनिक गरिएको छ ।
१. नेपाल पत्रकार महासङ्घको घोषित निर्वाचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्छ । त्यसअघि सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासङ्घ नेतृत्व गम्भीर हुनुपर्दछ ।
२. महासङ्घको साझा चरित्रको रक्षा गर्दै सहमतीय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा हामी पाँच सङ्गठन प्रतिबद्ध छौँ । सहमतीय नेतृत्व निर्माण गर्ने अभ्यासमा निर्णायक भूमिका रहने नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको नेतृत्वको गम्भीर ध्यानाकर्षण हुने छ भन्ने विश्वास हामीले लिएका छौँ ।
३. यदि सहमतीय अभ्यासमा लागिएन र प्रतिस्पर्धाको विधिबाट महासङ्घको निर्वाचन अगाडि बढेको अवस्थामा हामी पाँच सङ्गठन एउटै मोर्चाका रूपमा अगाडि बढ्न प्रतिबद्ध छौँ ।”
प्रगतिशीलका महासचिव प्रकाश थापामगरका अनुसार बैठकमा प्रेस युनियन र प्रेस चौतारीसित पनि वार्ताका लागि प्रयास गर्ने निर्णय भएको छ ।
