काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
२०८१ मङ्सिर १८ गते मङ्गलबार बिहान ८ बजे कार्यतालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यतालिकाअनुसार मङ्सिर २१ गते शुक्रबार केन्द्रीय समितिका लागि उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने छ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्ने छ ।
यता, प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोधसमेत गरिएको छ ।
मतदाता नामावलीप्रति विरोध
यता, आज बिहान सार्वजनिक गरिएको मतदाता नामावलीको धेरै जिल्लाबाट विरोध भएको छ ।
प्रगतिशील पत्रकार सङ्घले दाङमा ताल्चा लगाएको छ भने कपिलवस्तुमा पहिलेदेखि नै लगाइएको ताल्चा खुलेको छैन ।
कपिलवस्तुमा नै प्रेस युनियन र प्रेस चौतारीले पनि ताल्चा लगाएका छन् । त्यसैगरी मकवानपुरसहित देशैभरि विभिन्न सङ्गठनले सदस्यताको सम्बन्धमा विरोध व्यक्त गरेका छन् ।
कैयौँ जिल्लामा महासङ्घको कार्यसमितिका सदस्य नै विरोधमा उत्रिएका छन् ।
