जुमानसिंह केसी, खलङ्गा ।
प्युठानको गौमुखीमा राष्ट्रिय जनमोर्चाको “जनतासँग राजमो अभियान” सुरु भएको छ ।
गौमुखी गाउँपालिका वडा नं. ४ पुजाको गाउँपानीमा भेलासँगै २०८१ मङ्सिर १७ गते सोमबारदेखि सो कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्रशिक्षणात्मक मन्तव्य राख्दै सच्चा राजनैतिक पार्टीको सत्ता बिना जनताले सुख पाउन नसक्ने दावी गर्नुभयो ।
उहाँले जनताको एक मात्र क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चा रहेकाले यसैमा गोलबन्द हुन आग्रह पनि गर्नुभयो ।
‘अन्यायको विरुद्ध पुजाका जनता अग्रसर रहने गरेको इतिहास छ’ उहाँले भन्नुभयो– ॅत्यसको नेतृत्व राष्ट्रिय जनमोर्चाले गर्ने गरेकाले पुजा गाउँलाई राष्ट्रिय जनमोर्चामय बनाउन सबै कार्यकर्ता लाग्नुपर्छ ।’
काङ्ग्रेस, एमाले जनतामा झुटो आश्वासन बाड्दै हिँड्ने गरेकोले सचेत हुनपर्नेमा उहाँले जोड दिनुभयो ।
भेलामा राजमो प्युठानका सदस्य भरत केसीले सङ्गठनात्मक कार्य र आगामी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।
भेलालाई प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य जुमानसिंह केसीले शुभकामना दिनुभएको थियो ।
राजमो गौमुखीको गाउँ समितिका अध्यक्ष शालिकराम शर्माको अध्यक्षतामा अघि बढेको उक्त अभियानअन्तर्गत मङ्सिर २४ गते देखि पुस ७ गतेसम्ममा पुजाका विभिन्न गाउँबस्तीमा पुगी १६ ओटा टोल समिति गठन गर्ने लक्ष्य रहेको बताइएको छ ।
टोलबस्तीमा समिति निर्माणका लागि राजमोका नेताकार्यकर्तालाई जिम्मेवारीसमेत दिइएको राजमो गौमुखीका सचिव कृष्णप्रसाद जैसीले बताउनुभयो ।
अभियानअन्तर्गत गौमुखी गाउँपालिकाका सबै वडा तथा गाउँबस्तीमा घरदैलो अभियान, सङ्गठन निर्माण, भ्रष्टाचार विरुद्ध सचेतना, देशको वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।