शंकर प्रसाद पोख्रेल, प्युठान ।
कालापानी लगायतका क्षेत्रमा भारतले वर्षौंदेखि गरेको अतिक्रमणका विरुद्ध प्युठानमा प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चाले शनिबार प्युठान नगरपालिकामा विरोध पदर्शन गरेको हो ।
‘भारतीय सेना कालापानी छोड, गो ब्याक ईन्डिया, भारतीय साम्राज्यवाद मुर्दाबाद, नेकपा (मसाल) जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावाद’ लगायतका नारा लगाउँदै मित्रमणि चोकमा कोणसभाको आयोजना गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले नेपाली भूमी कालापानीमा नेपाली सेना परिचालन गर्न माग गर्नुभयो । त्यहाँबाट भारतीय सेना तत्काल हटाउन सरकारले जस्तोसुकै कदम चाल्नुपरे पनि पछि नहट्न आग्रह गर्नुभयो ।
नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले भारतसँग कुटनीतिक वार्तासँगै कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेको न्यौपानेले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा राजमो नेताहरु गेराज थापा, धुर्ब थापा, अर्जुन बिक, मुकुन्द रोका, पदमा पन्डित, लाल बहादुर राउतलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन भक्तु गिरिले गर्नुभएको थियो।

स्वर्गद्वारीमा पनि प्रदर्शन
यस्तै, शनिबार नै प्युठानको स्वर्गद्वारी नगरपालिकामा पनि राजमोले विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनपछि आयोजित कोणसभामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार वीर बहादुर पुन, राजमो जिल्ला उपाध्यक्ष इमान सिंह खड्का र जिल्ला सदस्य गिर बहादुर गुरुङले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमो नगर सचिव गंगाराम बिसीले गर्नुभएको थियो ।