काठमाडौं । कपिलवस्तुमा थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै शनिबार (आज) मात्रै नेपालमा ९ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताउनुभयो ।
नयाँ संक्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् । बिहान बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा संक्रमण देखिएको थियो । तीन जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २७६ पुगेको छ । हिजो शुक्रबार मात्र १८ संक्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
काठमाडौंमा ७ नयाँ संक्रमित
त्यस्तै, काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने नयाँ बिरामीको संख्या ७ पुगेको छ। जम्मा ४ दिनभित्र यति संख्यामा संक्रमित व्यक्ति फेला परेका हुन्। त्यसमा पनि ४ जना चन्द्रागिरिका मात्रै छन्। मंगलबारदेखि शुक्रबारसम्ममा उपत्यकाभित्र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक शुक्रबार काठमाडौं सतुंगल (चन्द्रागिरि नगरपालिका) का ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही दिन संक्रमण पुष्टि भएका दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका व्यक्ति पनि हाल काठमाडौंकै एक अस्पतालमा कार्यरत कर्मचारी हुन्। यीसमेत गर्दा उपत्यकाभित्र नयाँ संक्रमितको संख्या ७ पुगेको हो।
यसअघि बिहीबार काठमाडौं दहचोक (चन्द्रागिरि नगरपालिका) का ७ वर्षकै बालक र चन्द्रागिरिका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै यसअघि मंगलबार चन्द्रागिरिकै ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष कोरोना संक्रमित ठहर भएका थिए।
यसरी काठमाडौं उपत्यकामा मंगलबारदेखि शुक्रबारसम्म ४ दिनभित्र फेला परेका संक्रमितको संख्या ७ पुगेको हो। अहिले उनीहरू काठमाडौं उपत्यकाभित्रकै विभिन्न अस्पतालको आइसोलेसनमा छन्। तीमध्ये ५ जना टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन्। तीबाहेक अरू १२ जना सम्भावित संक्रमित आइसोलेसनमा रहेको छन् ।
