काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले स्पष्ट कार्यदिशासहित नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
२०८१ मङ्सिर १३ गते बिहीबारदेखि राजधानीमा सुरु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्दै प्रवक्ता पुरीले यस्तो धारणा राख्नुभएको हो ।
‘मूलतः विचार र कार्यनीतिसम्बन्धी मतभेदकै कारणले कम्युनिस्ट आन्दोलनमा टुटफुट हुने गरेको छ’ उहाँले भन्नुभयो– ‘फेरि पनि महत्त्वको विषय स्पष्ट र क्रान्तिकारी कार्यदिशाकै हो । स्पष्ट र क्रान्तिकारी कार्यदिशासहित नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन आवश्यक छ ।’
प्रवक्ता पुरीले यस्तो दायित्व मार्क्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीको काँधमाथि रहेको र उनीहरूले मात्रै यो अभिभाारा पूरा गर्न सक्ने किटानी गर्नुभयो ।
‘विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यसमा सुधार ल्याउने दायित्व मार्क्सवादी–लेनिनवादी पार्टीहरूको हो । यो जिम्मेवारी उनीहरूकै काँधमा छ र उनीहरूले मात्रै यो अभिभारा पूरा गर्न सक्नेछन्’ उहाँले स्पष्ट पार्नुभयो ।
सम्बोधनको क्रममा उहाँले लेनिनवादी सङ्गठनात्मक प्रणाली बिना नेपाल र विश्वको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो ।
‘लेनिनको नेतृत्वमा ठोस लेनिनवादी सङ्गठनात्मक प्रणालीको विकासपछि नै कम्युनिस्ट पार्टीले सत्ता कब्जा गर्ने र समाजवाद निर्माण गर्न सकेको थियो’ उहाँले भन्नुभयो–‘त्यसबाट लेनिनवादी सङ्गठनात्मक प्रणालीको विकल्प नभएको स्पष्ट हुन्छ ।’
उहाँले लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई अवमूल्यन गर्ने विचार सही नभएको धारणासमेत राख्नुभयो ।
प्रवक्ता पुरीले विचार र सिद्धान्तका कारणले नेपालका कम्युनिस्ट शक्तिहरू विभिन्न घटकमा बाँडिए पनि जनजीविका र राष्ट्रियताको विषयमा सहकार्य गर्न सकिने बताउनुभयो ।
उहाँको ठहर थियो–‘विचार र सिद्धान्तको विषयमा हामीमाझमा थुप्रै गम्भीर मतभेद छन् । त्यसका बाबजुद जनतन्त्र, जनजीविका र राष्ट्रियताको विषयमा हामीमाझ सहकार्य हुन सक्छ र त्यस्तो सहकार्य हामीले गर्ने गरेका पनि छौँ । यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्दछ ।’
यतिखेर साम्राज्यवादीहरूले तेस्रो विश्वयुद्ध भड्काउने सम्भावनातर्फ रहेकोतर्फ प्रवक्ता पुरीले सचेत गराउनुभयो ।
संसारभरिका मार्क्सवादी–लेनिनवादीले युद्धविरोधी मोर्चा बनाएर सम्भावित तेस्रो विश्वयुद्धलाई रोक्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
मङ्सिर २३ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन पार्टी महासचिव मोहन वैद्यले गर्नुभएको थियो ।
उद्घाटन सत्रको अध्यक्षता सन्तबहादुर नेपालीले, सञ्चालन हेमन्तप्रकाश ओलीले र स्वागत सी.पी. गजुरेलले गर्नुभएको थियो ।
महाधिवेशनलाई देशविदेशका कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले शुभकामना दिएका थिए ।