दमौली । सीमा अतिक्रमणका विरुद्ध राष्ट्रिय जनमोर्चा तनहुँले सभा गर्न खोज्दा प्रहरीले दमन गरेको छ ।तनहुँबाट राजमो अध्यक्ष पुष्पलाल श्रेष्ठले दिनुभएको जानकारीअनुसार आज २०७७ जेष्ठ २ गते राजमो जिल्ला कार्यालय मालपोत लाइनबाट जुलुश प्रदर्शन सुरु गरिएको थियो ।
प्रहरीले सुरुदेखि नै हस्तक्षेप गर्न खोजिरहेको भएता पनि जुलुश सफारोड हुँदै ट्राफिकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
प्रहरीले राजमोको झण्डा, ब्यानर, माइक खोस्नुपूर्व नै ट्राफिकचोकको कोणसभालाई राजमो तनहुँका सचिव श्रीकुमार श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । मन्तव्यको क्रममा नेता श्रेष्ठले जनस्तरबाट गरिने यस खालका प्रदर्शनले देशको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षामा योगदान नै पुग्ने दावी गर्नुभयो ।
कोरोना भाइरसको विश्वव्यापी महामारीकै बेला नेपालको भूमि मिचेर सडक बनाउने भारतीय साम्राज्यवादको कृत्यको जति निन्दा गरे पनि कम हुने बताउँदै उहाँले सीमा अतिक्रमणका विरुद्ध यतिखेर राष्ट्रिय सहमति कायम भएकाले सरकारले तत्कालै उच्चस्तरको कूटनीतिक कदम उठाउन माग गर्नुभएको थियो ।
नेता श्रेष्ठले सम्बोधन गरिरहेकै बेला प्रहरीले हस्तक्षेप गरेपछि अन्य वक्ताहरूले बोल्न नपाएको राजमो तनहुँका अध्यक्ष पुष्पलालल श्रेष्ठले जानकारी दिनुभयो ।