फिउगी (इटाली) । फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना तथा कारण नभएको युरोपियन युनियनका विदेशनीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बताउनुभएको छ ।
सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि चलिरहेको शत्रुतापूर्ण युद्धमा परिणत भएपछि इजरायलले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविराम स्वीकार गर्ने कि नगर्ने निर्णय गर्ने तयारी गरिरहेको जनाइएको छ ।
जी–७ का विदेश मन्त्रीको बैठकमा बोल्दै बोरेलले अमेरिका र फ्रान्सले मध्यस्थतामा टेबल गरिएको प्रस्तावमा इजरायलले मागेको सबै सुरक्षा प्रतिबद्धता समावेश रहेको जनाउँदै प्रस्ताव अस्वीकार गर्ने कुनै बहाना नभएको बताउनुभएको हो ।
उहाँले इजरायली सरकारका मन्त्रीबाट लडाइँ जारी राख्नका लागि विस्फोट जारी राख्ने इच्छुक आवाज सुनेकोसमेत पत्रकारलाई बताउनुभएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत इजरायली सरकारले युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने आशा व्यक्त गर्दै उहाँले लडाइँ बन्द गरी मानिसको नरसंहार अन्त्य गर्न आह्वान गर्नुभयो ।
पछिल्लो समयमा जी–७ राष्ट्रको समूहको अध्यक्षता गरिरहेको इटालीले विदेशमन्त्रीको बैठकको आयोजना गरी युद्धविरामको आशा जगाइरहेको छ । (रासस÷एएफपी)