काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे । उनले यो ट्रफीमात्र नभई यसले विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए।
सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि उनले बताए ।
‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’
ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ ।
नेपालमा पहिलोपटक यही मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा एनपीएल हुँदैछ। एनपीएलमा आठ टोलीको सहभागी हुँदैछन्।